वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले मिलेमतोमा कम मुल्यमा दिन लागिको भेडाहा खोलाको टेण्डर रोकिएपछि अहिले आएर महानगरलाई १ करोड फाइदा भएको छ । गिट्टी, बालुवा उत्खननको लागि यस आवमा महानगरले गोप्य सूचना प्रकाशित गरेर न्यूनतम मूल्य ३८ लाख १० हजार तोकी ४१ लाखमा दिने प्रपञ्च रचिएको थियो ।
विभिन्न सञ्चार माध्यम मार्फत कर्मचारीहरुको मिलोमतो बारे खुलासा भएपछि गोप्य टेण्डर प्रक्रिया रोकिएको थियो । अहिले महानगरले सोही खोलाको सार्वजनिक रूपमा टेण्डर आह्वान गर्दा १ करोड ४५ लाख ९ सयमा टेण्डर सकार भएको छ । नगरप्रमुख विजयकुमार सरावगीले गोप्य टेण्डर आफ्नो आदेशमा रद्द गरेका थिए ।
कर्मचारीहरूको मिलेमतोमा घटना भएपनि यसबारेमा छानबीन गरिएको छैन । महानगरले गत आव २०७६/७७ मा खोलाको टेण्डर तीन महीनाका लागि रु ९१ लाख र आव २०७५/२०७६ मा एक वर्षको लागि रु १ करोड ४५ लाखमा गरेको थियो ।
नगरप्रमुख सरावगीसहित महानगरका कर्मचारीहरू कोरोना सङ्क्रमित भएर आइसोलेट भएको अवस्थामा महानगरका केही कर्मचारीको मिलेमतोमा भेडाहा खोलाको टेण्डर कम मूल्यमा दिने प्रपञ्च रचिएको थियो ।