काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।
त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ । मुस्लिम अगुवाहरुले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त संघर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन ।