वीरगंज। दसैँपछिको पहिलो कारोबार दिनमै सेयर बजारमा उछाल आएको छ । दसैँमा पाँच दिनको सार्वजनिक बिदापछि बुधबारबाट खुलेको सेयर बजारमा उछाल देखिँदा नेप्से ३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से ४० अंकभन्दा बढीले वृद्धि भएर १६४७ अंक पुगेको छ । २०७७ साउन २६ गते नेप्से १६५३.५३ अंक थियो । त्यसपछि लगातर घटेको नेप्से ११०० अंकसम्म झर्यो ।
दसैँ अझैं बाँकी रहेको अवस्थामा पनि नेप्सेमा भने उछाल देखिएको छ । कोभिडका कारण यो वर्ष नेपालीले परिवारमा मात्रै दसैँ सीमित गर्दा लगानीकर्ता चाँडै फेस्टिभ मुडबाट बाहिरिएका छन् । जसले गर्दा कारोबार रकमसँगै नेप्सेमा पनि उछाल देखिएको छ ।
सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको अवस्थामा लगानीकर्ताले लाभांश बुक गर्न दसैँपछि बजारमा खरिद चाप बढाएका छन् । विशेष गरेर वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण हुँदा नेप्सेमा उछाल आएको छ ।
वाणिज्य बैंक समूहको प्रतिनिधित्व गर्ने बैंकिङ समूहको सूचक ४.२७ प्रतिशतले वृद्धि हुँदा नेप्से २.५७ प्रतिशतले बढेको छ । आज ४१.२ अंकले वृद्धि हुँदा नेप्से १६४७.४५ अंकमा बन्द भएको छ । २०७२ मा अहिलेसम्मकै उच्च १८८१ अंकमा पुगेर झरेको नेप्सेले पुन: सोही विन्दु पछ्याउँदै गएको विश्लेषकहरु बताउँछन् ।
दसैँअगाडि नेप्से १६०६.२५ अंकमा बन्द भएको थियो । आज प्रि-ओपनिङ सेसनमा २०७४ साउन १२ गते १६१२.५१ अंकमा खुलेको नेप्से बजार खुलेसँगै लगातार बढेको हो । सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेको, बैंकमा कर्जाको ब्याजदर घटेको पर्याप्त तरलाता भएको कोभिड १९ को कारण व्यापार व्यावसाय प्रभावित हुँदा लगानीको सुरक्षित क्षेत्रका रुपमा सेयर बजार रहेकाले नेप्सेले यसअघिको १८८१ अंकका रेकर्ड तोड्ने सक्ने विश्लेषकहरु बताउँछन् ।
दसैँपछिको पहिलो कारोबारर दिनमै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकमा देखिएको उछाल र त्यसले नेप्सेमा भएको वृद्धिले पनि अझै बढ्नसक्ने संकेत देखिन्छ । आज नेप्सेमा व्यापारबाहेक अन्य सबै समूहको सूचकमा हरियाली देखिएको छ । विकास बैंक समूहको सूचक पनि २.९१ प्रतिशत वृद्धि भएको छ । यस्तै व्यापार समूहको सूचक भने ०.८ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा कारोबार रकम तथा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा वाणिज्य बैंकहरुको नै वर्चश्व छ । नेप्सेमा १८८ कम्पनीको ९३ लाख २२ हजार ०८५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७२ करोड ५९ लाख ९४ हजारको सेयर कारोबार भएको छ । ४२ हजार ६१८ वटा कारोबारबाट उक्त रकमको सेयर किनबेच भएका हो ।
आज ग्लोबल आईएमई बैंकको २० करोड ६५ लाख ४५ हजारको सेयर कारोबार हुँदा धेरै कारोबार हुने कम्पनीम प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सिटिजन्स बैक र नेपाल बैंक छन् । प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्दा प्रभु बैंकको ८.५ र सनराइज बैंकको सेयर मूल्य ७.५७ प्रतिशतले बढेको छ । आज नेप्सेमा गुमाउने भने हाइड्रोपावरका लगानीकर्ता छन् । धेरै सेयर मूल्य घट्ने ५ कम्पनीमा हाइड्रोपावर मात्रै छन् ।