जिल्ला सदस्य तथा नेकपा बिन्दबासिनी गाउँपालिका कमिटीका सचिवसमेत रहेका चौरसियाको हत्यामा संलग्न रहेकालाई कारबाहीको माग गर्दै आफन्त र पार्टी कार्यकार्ताले दिनहुँ प्रदर्शन गर्दै आएका छन्। चौरसियाको मृत्यु भएको ६ दिनसम्म पनि प्रहरीले जाहेरी लिएको छैन।
सैबीच नेकपा बिन्दबासिनी गाउँपालिका समितिले दोषीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। प्रजिअ अस्मान तामाङमार्फत समितिले पाँच बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा जाहेरी दर्ता गरी दोषीमाथि कारबाही गर्न, चौरसियालाई शहिद घोषणा गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, जिल्ला प्रहरी प्रमुखमाथि कारबाही गर्न माग गरिएको छ।
गत कार्तिक ६ गते नेकपा बिन्दबासिनी गाउँपालिकामा आयोजना गरिएको समितिको सपथ ग्रहण कार्यक्रममा पार्टी बाहिरका मान्छेहरु लाठी भाटासहित आएर पार्टीको झण्डा र ब्यानर च्यातेको र पार्टी कार्यकर्ताहरुमाथि आक्रमणसमेत गरेको ज्ञापनपत्रमा नेकपा गाउँपालिका समितिले दाबी गरेको छ।
आक्रमणमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा गत कार्तिक ७ गते वीरगञ्जको एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो।उनको मृत्युपछि परिवारले दिएको जाहेरी प्रहरीले दर्ता गरेको छैन। नारायणी अस्पतालमा राखिएको चौरसियाको शवको हालसम्म पोष्टमार्टमसमेत भएको छैन।