सिराहा | नरहा गाउँपालिका- ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको शव सोमबार बेलुका पोखरीमा भेटिएको हो । खोरिया गाउँदेखि करिब सात सय मिटर पश्चिममा रहेको पोखरीमा दुवै बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताए ।
दिउँसो ३ बजेदेखि बेपत्ता उनीहरूको खोजी गर्ने क्रममा दुवै दाजुभाइको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी जयसवालले बताए । माछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी जैसवालले बताए ।
उक्त वडाका वडाध्यक्ष अनिसुल अन्सारीले दुवै बच्चा हराएको होहल्ला चलेपछि खोजी गर्ने क्रममा बेलुकी ७ बजेतिर शव फेला परेको बताए ।दुवै बालकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको डिएसपी जैसवालले बताए ।