काठमाडौं । नेपालमा प्रत्येक दिन औसतमा ६ वटा बलात्कारका घटना भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो दुई वर्षको तथ्याङ्कअनुसार प्रतिदिन ६ वटा बलात्कारका घटना हुने गरेको पाइएको हो । प्रहरीले अधिकांश बलात्कारका घटनामा सफलता पाएको पनि छ । तर पछिल्लो दुई वर्षमा बलात्कारका घटनामा अभियुक्तसम्म पुग्न नसकेको घटना निर्मला पन्त हत्या प्रकरण नै हो ।
बलात्कारका घटनामा सबैभन्दा पीडित ११ देखि १६ वर्षमुनिका बालिका भएको पाइएको छ । यो डरलाग्दो तथ्याङ्क हो । पछिल्ला दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने चार हजार आठ सय २८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । औसतमा भन्ने हो आर्थिक वर्ष ०७५/७६ मा दुई हजार दुई सय ३० वटा बलात्कारका घटना भए । यो वर्ष प्रतिदिन ६ वटा बलात्कारका घटना भए ।
आर्थिक वर्ष ०७६/७७ मा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भए । औसतमा भन्ने हो भने यो वर्ष पनि प्रतिदिन ६ वटा बलात्कारका घटना भए । चालु आर्थिक वर्षको साउन र भदौमा ४४५ वटा बलात्कार घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क विश्लेषण गर्ने हो भने झन्डै आठवटा बलात्कारका घटना प्रतिदिन भइरहेको देखिन्छ ।
धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले कतिपय बलात्कारका घटना बाहिर आउन नसकेको प्रहरी अधिकारी नै बताउँछन् । बलात्कारविरुद्ध समाज नै सचेत हुनुपर्ने र बलात्कारका घटनालाई ढाकछोप गर्न नहुने प्रहरी अधिकारीहरुको तर्क छ ।
अधिकांश ११ देखि १६ वर्षमुनिका बलात्कृत
बलात्कारबाट पीडित हुनेमा अधिकांश ११ देखि १६ वर्षमुनिका बालिका रहेको प्रहरी तथ्याङ्कले देखाउँछ । अझै धेरैजसो बलात्कारमा चिनेजानेका, आफन्त नै संलग्न भएको पाइएको छ । आर्थिक वर्ष ०७५/७६ मा २२ सय ३० बलात्कारका घटनामा ८८९ जना ११ देखि १६ वर्षमुनिका बालिका थिए ।
त्यसबाहेक १० वर्षमुनिका २९८ जना छन् । यसले बलात्कारको जोखिममा १ देखि १६ वर्षमुनिका बालिका बढी रहेको देखाउँछ । आर्थिक वर्ष ०७७/७८ मा पनि ११ देखि १६ वर्षमुनिका ८०१ बालिका बलात्कारको सिकार भए भने १० वर्षमुनिका २७३ जना बलात्कृत भए । पछिल्लो समय नेपालमा बलात्कारविरुद्ध कडा कानुन बनाउनुपर्ने मागसमेत उठिरहेको छ ।