सिरहा | नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार बिहान निधन भएको छ । उनी ३५ वर्षका थिए । सिरहाको सुखीपुर नगरपालिका ८ स्थायी घर भएका चौधरीको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान निधन भएको स्थानीय समेत रहेका नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव रोयाण्टर मण्डलले बताए ।
घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर.के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि चौधरीलाई ७ कात्तिकमा धरान लगिएको मण्डलले बताए । धरान पुर्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा निधन भएको हो ।
आर.के. मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भिर बनेपछि मात्र रेफर गरिएकाले दुःखद् निधन भएको भन्दै परिवारजनले गुनासो गरेको छ । मृतक चौधरीको शव शवबाहनमार्फत् सुखीपुर ल्याउँदै गरेको र मंगलबार अपरान्ह स्थानीय गागन नदीको किनारमा दाहसंस्कार गरिने जनाइएको छ ।
चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवङ्गत पत्रकार चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । चौधरी पछिल्लो समय मिथिला आवाज साप्ताहिकको कार्यकारी संपादक र सलहेश तथा समाद एफएममा संवाददाता थिए । चौधरी दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।