भारत | भारत र अमेरिकाबीच आधारभूत आदानप्रदान तथा सहकार्य सम्झौता (बेका) मा मंगलवार हस्ताक्षर हुने भएको छ । यस सम्झौताअन्तर्गत दुई देशले भूस्थानिक सूचना आदानप्रदान, नक्साहरूको सूचना तथा रक्षा मामिलाका लागि भूउपग्रहीय तस्वीर साझा गर्ने काम पर्दछ ।
सम्झौताका लागि अमेरिकाका रक्षामन्त्री मार्क टी एस्पर र परराष्ट्रमन्त्री माइकल आर पोम्पेओ सोमवार नयाँ दिल्ली आइपुगेका छन् । उनीहरूले भारतीय समकक्षीहरू रक्षामन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री एस जयशंकरसँग कुराकानी गरिरहेका छन् । अमेरिकामा राष्ट्रपति चुनाव आउनुभन्दा एक हप्ताअघि भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई यस सम्झौताले थप सुदृढ बनाएको विश्लेषण गरिँदैछ ।
भारतको रक्षा मन्त्रालयले यस भ्रमणका क्रममा बेका सम्झौता हुने भनी सन्तोष व्यक्त गरेको छ । विगत चार वर्षमा भारत र अमेरिकाबीच तीनवटा आधारभूत सैन्य सम्झौता भएका छन् जसले गर्दा दुई देशबीचको सैन्य सम्बन्ध थप निकट बनेको छ । रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, दुवै देशका रक्षामन्त्रीले विभिन्न क्षेत्रमा द्विपक्षीय रक्षा सहकार्यमा समीक्षा गरेका छन् ।
अमेरिकी रक्षामन्त्री एस्परदले मालाबार २०२० सैन्य अभ्यासमा अस्ट्रेलिया पनि सहभागी हुने विषयलाई स्वागत गरे । उक्त अभ्यासमा अस्ट्रेलिया पनि सामेल हुने भनी भारतले केही दिनअघि घोषणा गरेको थियो । छलफलका क्रममा सिंहले आत्मनिर्भर भारतअन्तर्गत रक्षा क्षेत्रका पहलहरूमा जोड दिए र अमेरिकी कम्पनीहरूलाई भारतको उदारीकृत नीति तथा अनुकूल रक्षा उद्योग प्रणालीको फाइदा उठाउन आग्रह गरे ।
उता भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी समकक्षी पोम्पेओसँग हैदराबाद हाउसमा भेटघाट गरेर विश्व परिस्थिति तथा त्यसका समकालीन चुनौतीहरूका विषयमा कुराकानी गरेको बताइएको छ । एसियाको स्थिरता तथा सुरक्षाका विषयमा समान चिन्ता र चासो पनि त्यसक्रममा व्यक्त भएको बताइएको छ । उनीहरूले चीनको चुनौतीका विषयमा कुरा गरेको बुझिएको छ ।
मंगलवारको बैठकमा पनि चारैजना मन्त्रीहरूले विशेष विषयमा कुराकानी गर्ने बताइएको छ । भारत र अमेरिकाबीच दुई जोड दुई मन्त्रीस्तरीय बैठक भइरहेको हो । कोभिडका कारण अधिकांश कूटनीतिक बैठकहरू भिडियो कन्फरेन्सिङमार्फत भइरहेकोमा यसरी आमनेसामने भएर भेटघाट गर्नु आफैंमा दुर्लभ कुरा हो ।
विगत पाँच महिनादेखि पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा भारत र चीनका सैनिकहरूबीच गतिरोधको स्थितिमा भारत र अमेरिकाका मन्त्रीहरूबीच प्रत्यक्ष भेटघाटको आफ्नै महत्त्व छ । चीनले भारतविरुद्ध चालेको कदमलाई अमेरिकाले कठोर आलोचना गर्दै आएको छ र त्यसको नेतृत्व माइक पोम्पेओले आफैंले गरेका छन् ।
बेका सम्झौता भएपछि भारतले अमेरिकाको भूस्थानिक सूचना उपयोग गर्न पाउँछ र क्षेप्यास्त्र तथा सशस्त्र ड्रोन जस्ता हतियार र स्वचालित प्रणालीको सटीकता बढ्छ । भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ । यस सहकार्यअन्तर्गत उच्चस्तरीय भूउपग्रहीय तस्वीर, टेलिफोन इन्टरसेप्ट तथा सीमामा चिनियाँ सैनिक र हतियार तैनाथीको आँकडा आदानप्रदान पनि गरिनेछ ।