मीठोमसिनो खाने, नयाँलुगा फेर्ने, टिकाजमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने आखिर वर्षभरिमा आफ्नै लागि बाँच्ने समय यही न हो । यसपटक कोरोना महामारीबाट बच्नको लागि सावधानी अपनाउनुपर्ने बाध्यात्मक अवस्था पनि सँगै जोडिएको छ ।
तर एकैछिन सम्झनुहोस् त ।
ढोकामा ताल्चा लगाएर शहरबाट स – परिवार निर्धक्क गाउँतर्फ लाग्छन् । चाडवाडको मौका छोपेर चोरको विगविगी हुँदा पनि घरबेटीको आँखामा चैनको निन्द्रा पर्छ । टिकट काउन्टरमा हुने लफडा होस् या बाटामा आइपर्ने झमेला सबैबाट मुक्त भएर सबैजना आनन्दले चाडवाडको वेला आफ्नो परिवार, आफ्ना आफन्तसँग रमाइलो गर्छन् । हो, हामी यति निश्चिन्त हुन हाम्रो सुरक्षाको लागि खटिएका प्रहरीमाथी हामीलाई पूर्ण विश्वास छ । किनकी हामीलाई थाहा छ, हाम्रा फौजीले हाम्रो सुरक्षाको जिम्मेवारी लिएका छन् ।
हाम्रो जस्तै परिवार भएका फौजी न निष्फिक्री कतै घुम्न निस्कन पाउँछन् न त आफ्ना परिवार, आफन्त र साथीभाई भेट्न । अझ यहि समयमा बढी चलाखिपूर्ण तरीकाले कर्तव्य पूरा गरी ड्युटीमा लाग्छन् ।उनीहरुको मन कति खल्लो हुँदो हो । तर पनि तपाई हाम्रो सेवामा घाम पानी, धुलो हिलो, चाडबाड नभनि खटिएका छन् ।
राष्ट्रसेवक यी कर्मचारीको भावना र वेदना समेटेर बनाइएको गीत हो, ‘फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार ’ रेडियो, टिभीमा यो बेला मञ्जुश्री धुनसँगै सबैभन्दा बढी घन्किने यो गीतमा चाडबाडका बेला फौजीले गर्ने गाउँघर र परिवारको सम्झनालाई शब्दमा उनिएको छ ।
गीतको भिडियोमा प्रहरी जवान बर्दीमै रातो टिका र जमरामा सजिएर नाचगान गरेको देखिन्छ । जो सुकैको मुटु निचोर्ने यस गीतमा फौजीको आत्मा बोल्छ ।हाम्रा सुरक्षाका लागि आफ्नो खुसी सहजै त्याग्ने सम्पूर्ण राष्ट्रसेवकलाई बडा दशैँको शुभकामनासहित हाम्रो सलाम ।