रावणलाई रामले वध गरेको त धेरैलाई थाहा छ । रावणको यस नियतिमा अनेकौं मानिसबाट प्राप्त श्राप पनि जिम्मेवार थियो भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहोला ।रघुवंशमा अनरण्य नामक एक राजा थिए । रावणले विश्वविजय गर्ने क्रममा राजा अनरण्यसँग युद्ध गरेको थियो । युद्धमा अनरण्यको मृत्यु भयो तर मृत्युअघि उनले रावणलाई श्राप दिए ।
अनि एकपटक रावण भगवान् शिवलाई भेट्न कैलाश पर्वत पुगेको थियो । कैलाशमा रावणले शिवजीको वाहन नन्दीको मजाक उडायो । क्रोधित नन्दीले रावणलाई श्राप दिए । एकपटक रावण पुष्पक विमानमा यात्रा गरिरहेको बेलामा सुन्दर स्त्रीलाई देख्न पुग्यो । ती नारीले भगवान् विष्णुको पूजा गरिरहेकी थिइन् । रावणले महिलाको कपाल तानेर आफूसँग हिँड् भन्यो । स्त्रीले तत्कालै त्यहीँ प्राणत्याग गरिन् र मर्नुअघि रावणलाई श्राप दिइन् ।
संसार विजय गर्नका लागि रावण स्वर्ग समेत पुगेको थियो । त्यहाँ रम्भा अप्सराप्रति ऊ मोहित भयो । रम्भाले रावणका दाइ कुबेरको छोरा नलकुबेरसँग विवाह गर्न खोजेकी थिइन् । रम्भालाई उसले जबर्जस्ती करणी गर्यो । यो कुरा थाहा पाएका नलकुबेरले रावणलाई श्राप दिए । रावणले प्यारी बहिनी शूर्पणखाबाट पनि श्राप पाएको थियो । शूर्पणखाको पतिको नाम विद्युतजिह्वा थियो र उनी राजा कालकेयका सेनापति थिए । कालकेयसँग भएको युद्धमा रावणले विद्युतजिह्वालाई मारेको थियो । त्यसपछि रिसाएकी शूर्पणखाले रावणलाई श्राप दिइन् ।
रावणले आफ्नी पत्नी मन्दोदरीकी दिदी मायामाथि पनि कुदृष्टि राख्ने गरेका थिए । मायाका पति शम्भर वैजयन्तपुरका राजा थिए । एक दिन रावण शम्भरलाई भेट्न जाँदा मायालाई आफ्नो जालमा फसायो । शम्भरलाई यसको बारेमा जानकारी आएपछि रावणलाई कैद गर्यो ।त्यतिखेरै राजा दशरथले रावणमाथि आक्रमण गरे । युद्धमा शम्भरको मृत्यु भयो । त्यसपछि मायाले आफैं प्राणत्याग गर्ने निर्णय लिइन् । रावणले मायालाई आफूसँग जान भन्यो । मायाले रावणलाई श्राप दिँदै तेरो वासनाका कारण मेरा पतिको मृत्यु भयो भनिन् ।