वीरगंज। वीरगंज महानगरपालिका वडा नम्बर २९ बसडिलवाका ३० जना किशोरीहरुलाई हाइजेनिक किट वितरण गरिएको छ । सक्रिय युवाहरुको समुह युवालयले डि के ए अष्ट्रिया, इम्प्रुभिङ्ग लाइभ्स इन नेपालको सहकार्य र वीरगंज महानगरपालिकाको समन्वयमा किशोरीहरुलाई किट वितरण गरिएको हो । ग्रामिण क्षेत्रका किशोरीहरुमा महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सचेतना फैलाउने ध्येयले स्यानिटाइजर, ब्रश, मन्जन, टावेल, कपडा धुने तथा नुहाउने साबुन, स्यानिटरी प्याड, नेल कटर लगायतका सामाग्रीको प्याकेट बनाएर किट वितरण गरिएको युवालयका सदस्य जया साह जानकारी दिनुभयो ।
वडा न. २८ का अध्यक्ष धर्मेन्द्र प्रसाद थारु, वडा कार्यालयका प्रमुख जहावरलाल यादब, वडा सदस्य ध्रुब यादब लगायतको उपस्थितीमा किशोरीहरुलाई किट वितरण गर्नुका साथै बसडिलवा स्वास्थ्य चौकीलाई समेत विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने अभिप्रायले अटोमेटिक स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस शिल्ड, स्प्रे, हेड कभर लगायतका सामाग्री वडाअध्यक्ष थारुलाई हस्तान्तरण गरिएको साहले बताउनुभयो ।
साथै युवालयले वीरगञ्ज महानगरपालिका वडा न. १७ अलौमा निशुल्क टिउशन कक्षा शुरु गरेको छ । कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र बालबालिकामा अध्ययन गर्ने बानिको बिकास गर्नका निम्ती निशुल्क टिउशन कक्षा शुरु गरेको युवालयले जनाएको छ । यसअघि वडा न. २८ बगहीमा पनि निशुल्क टिउशन कक्षा शुरु गरेको युवालयले अन्य स्थानमा पनि टिउशन तथा स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरन्तरता दिने युवालयका सदस्य जया शाहले जानकारी दिनुभयो ।