विरगंंज । विरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्रीको अभावलाई मध्यनजर गर्दै सक्रिय युवाहरुको समुह युवालयले डि के ए अष्ट्रिया र इम्प्रुभिङ्ग लाइभ्स इन नेपालको सहकार्य र विरगंज महानगरपालिकाको समन्वयमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले स्वास्थ्य केन्द्र बगहीका सिनियर प्रमुख नागेन्द्र ठाकुरलाई अटोमेटिक स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस शिल्ड, स्प्रे, हेड कभर लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।
महिनावारीको समयमा सरसफाईमा विशेष ध्यानका लागी सो क्षेत्रका ४५ जना किशोरीहरुलाई हाइजेनिक किट समेत वितरण गरिएको युवालयका सदस्य जया साह जानकारी दिए ।
हाइजेनिक किटमा स्यानिटाइजर, ब्रश, मन्जन, टावेल, कपडा धुने तथा नुहाउने साबुन, स्यानिटरी प्याड, नेल कटर लगायतका सामाग्री रहेका छन् ।
यसका साथै कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै कक्षा ५ भन्दा तलका विद्यार्थिहरुका लागी २ महिनासम्म नि:शुल्क टिउशन कक्षा पनि शुरु गरिएको छ । टिउशन कक्षाका लागी चाहिने शैक्षिक सामाग्री पनि संस्थाले नै उपलब्ध गराएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सरावगीले युवालयले गरेका हरेक क्रियाकलाप सह्रानिय भएको बताउँदै आगामी दिनमा पनि महानगरपालिकासँग समन्वय गरेर सामाजिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विरगंंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अर्विन्दलाल कर्ण, भिजिट मधेसका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण युवालयका सदस्य जया साहले गरेका थिए ।