वीरगंज | वीरगंजस्थित नारायणी अस्पतालले उपलब्ध गराएको विवरण अनुसार पर्साका १८, बाराका ६, सर्लाहीका र रौतहटका १/१ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।अस्पतालको पिसिआर ल्याबमा सोमबार अबेर रातिसम्म पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ९ वर्षीय बालकसहित २६ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।
पर्सामा ७२ जनाको कोरोना परिक्षण गर्दा डाबर नेपालका दुई जना ३६ वर्षीय पुरुष कर्मचारी र तराई हस्पिटलका एक जना २६ वर्षीय पुरुष पनि संक्रमण देखिएको उनले बताए ।त्यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ३, ८, १०, १२, १६, २० र २२ मा एक/एक जना, बहुदरमाई नगरपालिका वडा नम्बर ९ मा एक जना, बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ मा एक जना र पकाहमैनपुर गाउँपालिका वडा नम्बर ४ र ६ मा एक/एक जनामा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी बाराका २४ जनाको कोरोना परिक्षण गर्दा पर्सौन गाउँपालिका वडा नम्बर १ का एक जना, कलैया उपमहानगरपालिका वडा नम्बर १८ का एक जना र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ र १४ का दुई/दुई जनागरी ६ जना संक्रमित थपिका छन् । उता रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ५ का एक र सर्लाहीको रामनगर नगरपालिका वडा नम्बर ७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।थपिएका संक्रमितहरुको सिटि भ्यालु २४ देखि ३३ सम्म रहेको डाक्टर चौरसियाले बताए । सिटि भ्यालु २४ भन्दा माथि रहेका संक्रमितहरुले अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना न्यून रहेको विज्ञहरुले बताउने गरेका छन् ।