प्रहरी र तस्कर समूहबीच पर्साको ठोरीमा झडप, दुबैतर्फबाट गोली चल्यो ?
वीरगंज संजाल
२९ आश्विन २०७७, बिहीबार १९:४३
४१८९
वीरगंज | प्रहरी र हतियारधारी समूहबीच पर्साको ठोरी गाउँपालिकामा झडप हुँदा दुबैतर्फबाट गोली चलेको छ। प्रहरी र लागुऔषध तस्करहरुबीच ठोरी गाउँपालिका–४ विजयबस्ती नजिकै झडप हुँदा गोली चलेको प्रहरीले जनाएको छ।
अवैध लागुऔषध गाँजाको तस्करी भइरहेको सूचना पाएपछि ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोली सो क्षेत्रमा परिचालन गरिएको थियो। हतियारसहित रहेको सो समूहले प्रहरीलाई लक्षित गरेर गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाही स्वरुप दुई राउण्ड फायर गरेको प्रहरी निरीक्षक साहले बताए।
प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको साहले जानकारी दिए। पक्राउ परेका चारैजना ठोरी गाउँपालिका ४ विशाल चोकका स्थानीयहरु रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले चार राउन्ड गोली र एकथान भरुवा बन्दुकसमेत बरामद गरेको छ। चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षण शाहले बताए।