वीरगंज | तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु गएको छ । भीमाद नगरपालिका ६ का ९८ बर्षीय धर्मकुमार श्रेष्ठ र उनका दुई छोरा सहित एकै परिवारको तीन जनाको कोरोनाको कारण मृत्यु भएको भिमाद नगरपालिकाका उपमेयर शारदा खनालले बताइन् ।
आफूहरुले आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण सामुदायिक स्तरमा फैलिन नदिन उच्च सतर्कता अपनाउँदा अपनाउँदै निकै दुःखलाग्दो घटना हुन गएको उनले जनाइन् ।धर्मकुमारको काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, उनका माइला छोरा ७५ वर्र्षीय कृष्ण कुमार श्रेष्ठको काठमाडौंको डि एण्ड बि अस्पतालमा उपचारकै क्रममा असोज २४ गते र साइला छोरा ७१ बर्षीय बिष्णु कुमार श्रेष्ठको चितवनको घरमा एक्कासी बेहोस भई चितवन मेडिकल कलेजमा उपचारकै क्रममा असोज १९ गते मृत्यु भएको श्रेष्ठ परिवार श्रोतले जनाएको छ ।
९८ वर्षीय धर्मकुमार श्रेष्ठ बाबु बिरामी परेपछि चार भाइ छोराहरु उनको रेखदेखमा खटिएका थिए । जसमध्ये दुई भाई हाल कोरोना पोजेटिभ भई आइसोलेसनमा उपचार हँुदै छ । धर्मकुमारका जेठा छोरा करिब ७८ बर्षका रामकुमार श्रेष्ठ र कान्छा छोरा करिब ६६ बर्षका अमृत कुमार श्रेष्ठ हुन् । मृतक धर्मकुमार श्रेष्ठका नाति सुमन कुमार श्रेष्ठले अस्पतालको लापरवाहीले गर्दा आफ्ना हजुरबा सहित एकै परिवारका तीन जनालाई कोरोनाको कारण गुमाउनु परेको गुनासो गरे ।
दम रोगबाट ग्रसित भएका हजुरबाको चितवनको सि.एम.सि.मेडिकल कलेजमा उपचार गरे पश्चात पुनः थप उपचारको लागि मनकामना अस्पतालमा लगिएको जहाँ करिब ६ दिनको उपचार पश्चात काठमाडौंको मेडिसिटिमा लगिएको सुमनले बताए । सिएमसिमा उपचारकै क्रममा कोरोना परिक्षण गर्दा नेगेटिभ आएको र उक्त अस्पतालमा बढी भिड भाड भएकोले मनकामना हुँदै मेडिसिटिमा लग्दा मेडिसिटिमा उपचारकै क्रममा कोरोना परिक्षण गर्दा पोजेटिभ नतिजा आएको सुमनले जनाए ।
मेडिकल कलेजले औषधि उपचारको मात्र ३ लाखको भुक्तानी दाबी गरेको जसको डिटेलमा विल नदिएको सुमनले जनाए । उनले भने, “हामी एक त पिडामा छौं, यो अबस्थामा पैसाको कुरा गर्ने होइन तर पनि विना विलको लाखौं रुपैयाँ कसरी तिर्ने ? सम्बन्धित अस्पतालले अर्को मेडिकल अस्पतालको नाममा रकम जम्मा गर्न भनिएको छ, जहाँ राज्यलाई तिर्नुपर्ने कर छलि पनि भएको हुन सक्छ ।”
बुबाको स्यहारसुसारमा खटिएका ४ छोरामध्ये दुई छोराको मृत्यु भए पश्चात बाबुको पनि मृत्यु भएको खबरले हाल तनहुँ भिमाद निकै शोकमा परेको भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोसीले बताए । बिष्णु कुमारीकी श्रीमती र उनका चालकमा कोरोना पोजेटिभ देखिएसंगै हाल उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा हाल उपचार भई रहेको उनले जनाए ।