वीरगंज। संघीय सांसद् र वीरगंज महानगरपालिकाका नगरप्रमुखलाई समाजिक सञ्जाल फेसबुक मार्फत अपशब्द प्रयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन् |जिल्ला प्रहरी कार्यालय पर्साले छिपहरमाई गाउँपालिका वडा नम्बर ३ बस्ने अनमोल चौरसियालाई संघीय सांसद् प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई सामाजिक सञ्जाल फेसबुकमा अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ गरेको हो । चौरसिया छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का वडा सचिव राजकिशोर प्रसाद चौरसियाका छोरा हुन् ।
चौरसियाले भदौं २० गते आयुषराज नामको फेसबुक आइडी बनाएर पर्सा निर्वाचन क्षेत्र नं. १ सांसद् प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई अश्लिल शब्द प्रयोग गरेर स्टाटस पोष्ट गरेका थिए ।
प्रहरीले यसअघि भदौ २४ गते वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको मोवाइलको नम्बर प्रयोग गरेर निर्मित फेसबुक आइडीबाट यादव र सरावगीको तस्विर राख्दै परिवारका सदस्य समेत बारे आपत्तिजनक पोष्ट गरिएको थियो । तर बुझ्दै जाँदा असलमले त्यो पोष्ट नगरेको पुष्टि भएपछि उनलाई रिहा गरिएको थियो ।
प्रहरीले अनुसन्धा गर्दै जाँदा आज प्रकरणका मूख्य ब्यक्ति चौरसिया वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकबाट डेराको घरबाट पक्राउ परेका छन् ।चौरसियाले आवेगमा आएर आफूले सामाजिक सञ्जाल मार्फत अपशब्द सहितको स्टाटस पोष्ट गरेको कबुल गरेका छन ।
वीरगंज पानिटंकीस्थति डेसीमल कलेजका विद्यार्थी समेत रहेका चौरसियासँग प्रहरीले थप अनुसन्धान समेत गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।मोवाइल नम्बरको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनी विरुद्ध साइबर अपराध वा अभद्र ब्यवहार के मा मुद्धा चलाउने भन्ने बिषय भने निक्र्योल भएको छैन ।