एजेन्सी । बलिउडका ‘ही म्यान’ नामबाट पनि परिचित अभिनेता धर्मेन्द्रले बलिउडमा ६ दशक पूरा गरेका छन् । धर्मेन्द्र लामो समयदेखि चलचित्रबाट टाढा रहे पनि उनका प्रशंसकको संख्यामा भने कुनै कमी आएको छैन। अझै भन्ने हो भने सामाजिक सन्जालमा उनको बढ्दै गइरहेको फलोअर्सको संख्याले पनि प्रस्ट पार्छ कि धर्मेन्द्रको प्रशंसकको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ।
बलिउडको ६ दशकको यात्रा पूरा भएको खुसीमा धर्मेन्द्रले आफ्ना उनै प्रशंसकका लागि भिडियो सन्देश पठाएका छन् । धर्मेन्द्रले उनको ‘आप का धरम’ नामको इन्स्टाग्राम अकाउन्टमा आफूले बोल्दै गरेको एक भिडियो सेयर गर्दै भनेका छन्, “साथीहरु, चलचित्र उद्योगमा ६० वर्ष पूरा गरिसकेँ। म एक सेलिब्रिटी हुँ भन्ने सोच मलाई कहिल्यै आएन । म अझै पनि गाउँको एक नम्र बच्चा हुँ जसका ठूला सपना छन् । तपाईंहरु सबैमा मेरो एउटा अनुरोध छ । दयालु र नम्र हुनुहोस् । आफूभन्दा ठूलाको सम्मान गर्नुहोस्, यसले तपाईंलाई आफ्नो लक्ष्यसम्म पुग्न तागत दिनेछ ।
३०० भन्दा धेरै चलचित्र
अभिनेता धर्मेन्द्रले आफ्नो ६० वर्षको फिल्मी करियरमा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । ६० को दशकमा उनले बंदिनी, सत्यकाम, फूल, पत्थर र हकिकतजस्ता सुपरहिट ब्लाक एन्ड ह्वाइट चलचित्रमा अभिनय गरेका छन् ।
यस्तै ७० को दशकमा शोले, चरस, ड्रिम गर्ल, सीता और गीता, धरमवीर, प्रोफेसर, प्यारेलाल, चुपके चुपके, मेरा गाँव मेरा देश, प्रतिज्ञा, जीवन, मृत्यु, ब्ल्याकमेल र शालिमारजस्ता ब्लकबस्टर चलचित्रमा अभिनय गरेका छन् ।
धमेन्द्र यसपछि अर्थात ८०-९० को दशकमा पनि उत्तिकै चलचित्रमा सक्रिय थिए । उनको पछिल्लो चलचित्र ‘यमला पगला दिवाना’ पुन: २०१८ मा रिलिज भएको थियो । -नवभारत टाइम्स