विरगंज । विरगंंजको नारायणी अस्पतालमा गएराति गरिएको परिक्षणमा नेपाल आर्मीका सैनिकसहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सा जिल्लाको विभिन्न स्थानबाट कन्ट्याक्ट ट्रेसिङ् र मास टेस्टिङ मार्फत जम्मा गरेर ल्याइएको २ सय ६६ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा वीरगञ्ज घण्टाघरस्थित बरख गणमा कार्यरत नेपाली सेनाका १४ जना सैनिकसहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगत केहि दिनदेखि पर्सामा संक्रमित थपिने ग्राफ घट्दै गएको थियो ।
त्यसैगरी वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा वीरगञ्ज महानगरपालिकाले गरेको मास टेस्टिङबाट जम्मा भएर आएको स्वाबलाई परिक्षण गर्दा १० जना पोजेटिभ भेटिएका छन् । त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ११ र २२ मा कन्ट्याक्ट ट्रेसिङमा परेरपनि एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डाक्टर चौरसियाले पर्साको बहुदरमाई नगरपालिकामा पनि ३ जना र पकाहमैनपुर गाउँपालिकामा एक जनामा पनि संक्रमण देखिएको जानकारी दिए ।
उता बारामा २२ जनाको परिक्षण गर्दा जम्मा ३ जनामा संक्रमण पुष्टि भएको छ । बाराको जितपुरसिमर उपमहानगरपालिका वडा नम्बर २ मा एक, निजगढ नगरपालिका वडा नम्बर ९ मा एक र कलैया उपमहानगरपालिका वडा नम्बर २ मा एक जनामा संक्रमण देखिएको छ ।
थपिएका संक्रमितहरुमा ११ वर्षीय बालकदेखि ५५ वर्षीय वृद्ध समेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३४ सम्म रहेको छ ।