वीरगंज। पर्सा र बारामा फेरी कोरोनाभाइरस संक्रमितहरुको संख्या बढेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति २ सय ९२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना पुष्टि भएकामध्ये निजि बैंकमा काम गर्ने कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र अस्पतालमा भर्न बिरामी समेत रहेका छन् ।
नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले उपलब्ध गराएको विवरण अनुसार पर्सामा २ सय ३९ जनाको स्वाबलाई परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएकामध्ये एक जना सिद्धार्थ बैंक वीरगञ्ज शाखामा कार्यरत २६ वर्षीय महिला कर्मचारी रहेकी छन् । त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर १३ मा १६, ४० र ४४ वर्ष उमेर भएका तिन जना पुरुष, वडा नम्बर १० मा ५७ र ६७ वर्षका दुई जना पुरुष, वडा नम्बर ७ र ३० मा ५१ र २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यसतै तराई अस्पतालमा भर्ना भएकी एक जना ५६ वर्षीय महिलामा संक्रमण देखिएको छ । पर्साको ग्रामिण भेग कालिकामाई गाउँपालिका वडा नम्बर १ मा एक जना ४१ वर्षीय पुरुष, पर्सागढी नगरपालिकामा एक जना ३५ वर्षीय महिला, जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा एक जना २४ वर्षीय युवकसमेतमा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताए ।
उता बारा जिल्लामा ५३ जनाको स्वाबलाई परिक्षण गर्दा ७ जना कोरोना पोजेटिभ भएका छन् । कोरोना पोजेटिभ भएका अधिकतम जितपुर सिमरा उपमहानगरपालिकाका बासिन्दा हुन् ।जितपुरसिमराको विभिन्न वडामा पाँच जना संक्रमित भेटिएका छन् भने पर्सौनी गाउँपालिका वडा नम्बर ६ का एक जना र भुमी सुधार मालपोत कार्यालय बाराका एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताए ।
थपिएका संक्रमितहरु १६ वर्षदेखि ६७ वर्ष उमेर समुहसम्म रहेका छन् । उनीहरुको सिटि भ्यालु १५ देखि ३० सम्म रहेको प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिए । केहि दिनदेखि घटेको कोरोना परिक्षणको दायार बढ्दा संक्रमित पनि बढेका हुन् ।