वीरगंज । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको लागि १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जका सचेत नागरिकहरुले आज दोस्रो दिनपनि प्रदर्शन गरेका छन् ।वीरगञ्जका सचेत नागरिक समाजमा आबद्ध चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलका व्यक्तिहरुले डाक्टर केसीले उठाएको मुद्दाहरुलाई सम्बोधन गर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या र बेतिथिहरुलाई समाधान गर्ने माग राखेर १९ औं पटक अनसन गरिरहेका डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले कुनै पहल समेत नगरेको प्रदर्शनकारीहरुले आक्रोश व्यक्त गरेका थिए ।
अनसन ऐक्यबद्धता जनाउन पुगेका अभियानकर्ता एवम् जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले डाक्टर केसीको मागहरुलाई सम्बोधन नगरेर सङ्घीय सरकारले मेडिकल माफियाहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले माफियालाई कारवाही गर्नुको सट्टा प्रधानमन्त्री र देशका वरिष्ठ नेतासमेत माफियालाई जोगाउनु दुर्भायापूर्ण भएको बताए ।
मेडिकल माफियाहरुको चंगुलमा रहेको स्वास्थ्य र स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार ल्याएर देशलाई प्रगति तिर उन्मुख गर्नूपर्ने सट्टा सरकार माफियाहरुको संरक्षण गरेको भन्दै प्रदर्शनकारीहरुले दैनिक बिहान ७ बजे प्रदर्शन गर्न जानेका छन् ।यसैबीच, सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो ।
तर समय भने तय भइसकेको छैन । सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि बैठक बस्ने योजनामा रहेको बताए ।