वीरगंज। वीरगंजस्थति नारायणी अस्पतालमा ९६ जनाको कोरोना परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालमा पर्सा र बाराको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका ८ र बारामा १० जनासहित थप १९ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका अन्य एक जना सिराहका बासिन्दा हुन् ।
पर्सामा थपिएका सबै संक्रमित सदरमुकाम वीरगञ्जका बासिन्दा हुन् । नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार वीरगंजको वडा नम्बर १० र २० मा दुई/दुई जना र वडा नम्बर ३, ८, १२ र १३ मा एक/एक जना गरी आठ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बाराको करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुर्वण गाउँपालिका, कोतवाली नगरपालिका र परवानीपुर गाउँपालिकामा पनि एक/एक जना र जितपुर सिमरा उपमहानगरपालिकामा तिन जनामा संक्रमण देखिएको छ ।सिराहको लहान नगरपालिकाका एक जना बासिन्दापनि संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकाहरुको सिटि भ्यालु १४ देखि २८ सम्म रहेक छ ।