जनकपुरधाम | डा. गोविन्द केसीको समर्थनमा जनकपुरधाममा विरोध प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. केसीको समर्थनमा बुधबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको हो।
जनकपुरधामको रामानन्द चोकमा जनकपुरधामका युवा तथा कोभिड–१९ क्विक रेस्पोन्स टिमको आयोजनामा साँझ विरोध प्रदर्शन गरिएको हो। केसीका माग जायज भएपनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै सडक अवरुद्ध गर्दै उनीहरुले प्रदर्शन गरेका छन्।
नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यवद्धता र संघीय सरकारको गैरजिम्मेवारीपनका विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताए।
उनले डाक्टर केसी १९ औं पटक अनशनमा बसेपनि उनको माग पूरा नहुनु दुःखद रहेको बताए। अनशन बस्नुमा डा. केसीको कुनै व्यक्तिगत स्वार्थ नरहेकोले उनको समर्थनमा सम्पूर्ण नेपाली जनतालाई अगाडि आउनुपर्ने आवश्यकता रहेको उनले बताए।
‘डा. केसी व्यक्ति होइन आवाज हो’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’, ‘लुटतन्त्र बन्द गर’, ‘डा. गोविन्द केसीको जीवन रक्षा गर’, ‘आवर रियल हिरो डा. गोविन्द केसी, ‘मेडिकल माफियाको दादागिरी बन्द गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नगरसभापति मनोज साह, जिवनाथ चौधरी, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, क्विक रेस्पोन्स टिमका डा. सज्जन ठाकुर, अनुष पाण्डेय, दिपक ठाकुर, बलराम गुप्ता, रमेश यादव, कांग्रेस नेतृ सम्झना वर्मा, मधेश अधिकार संघर्ष समितिका सरोज कुमार मिश्र, यानका राहुलराज साह, नेविसंघ महोत्तरीका जिल्ला नेता आशुतोष झा लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।