प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार गर्दा ती महिलामाथि गरिएको अमानवीय अत्याचारको विवरण उल्लेख गरेन । गाउँका ठालुहरू र स्थानीय प्रतिनिधिकोे दबाबमा परेर प्रहरीले गलत मुचुल्का बनाएको छ । समाचारअनुसार मुचुल्कामा स्थानीयले ‘दिसा खुवाएको’ उल्लेख गर्न नदिएको प्रहरीले बताएका छन् । महिलालाई मानव मलमूत्र खुवाउनेजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूको दबाबमा प्रहरीले गलत मुचुल्का बनाउनु पक्कै पनि निन्दनीय कार्य हो ।
विडम्बना, प्रदेश नम्बर २ मा बलात्कार पीडितहरूका पक्षमा नेपाल प्रहरीका जवान र अधिकृतले सराहनीय सक्रियता देखाए भने हुम्लामा पीडकहरूको प्रभाव वा प्रलोभनमा परेर अपराधी जोगिने गरी गलत मुचुल्का तयार गरे । हुम्लाका प्रहरीले स्थानीयले ‘दबाब’ दिएको र ‘झडप’ हुनसक्ने बताए पनि त्यसले मुचुल्काबाट मानव मलमूत्र खुवाएको अपराध लुकाउन गरिएको कुकर्मको औचित्य पुष्टि हुँदैन । मुचुल्काबाट मूल अपराध हटाउन प्रहरीलाई दबाबभन्दा लोभले बढी प्रभावित पारेको अनुमान सहजै गर्न सकिन्छ । यसरी मुचुल्कामा मूल विषय नै छुटाइएपछि मुद्दा स्वतः कमजोर हुनपुग्छ ।
वयस्क महिला र पुरुषबीच स्वेच्छाले भएको यौन सम्बन्ध दण्डनीय अपराध मानिन सक्तैन । त्यस्तो घटनामा पनि महिलालाई कपाल खौरेर मानव मलमूत्र खुवाएर गाउँ घुमाउनु मध्ययुगीन बर्बरता हो । यस्तो बर्बर कार्य अझै पनि नेपालका गाउँहरूमा हुनु अत्यन्त दुःखको विषय हो । त्यसमा पनि जनप्रतिनिधिहरू अपराधमा संलग्न हुने र प्रहरीले तिनलाई उन्मुक्ति दिने गरी मुद्दा कमजोर बनाउनु झन् बढी चिन्ता र आपत्तिको विषय हो । नेपाल प्रहरीले सबैतिर नागरिकको मानव अधिकारको रक्षामा समान व्यवहार गनुृपर्छ । केन्द्रले हस्तक्षेप गरेर पनि हुम्ला प्रहरीको गलत अभ्यास सच्याओस् । मुचुल्का कमजोर बनाइएकै कारण पीडित महिलाले न्याय पाइनन् वा पीडकहरूले उन्मुक्ति पाए भने यसको कलंक नेपाल प्रहरीमाथि लाग्नेछ । baahrakhari