वीरगंज । भारतमा अक्टोबर १५ तारिखबाट सिनेमा घरहरू खुल्दै छन्। त्यही आधारमा नेपाली सिनेमा पनि खोल्नुपर्ने आवाज उठन थालेको छ। त्यसका लागि चलचित्रसँग सम्बन्धित संघ संस्था सरकारसँग लबिङमा छन्।
तर, कुनै पनि निर्माताले सिनेमा घर खुलेको खण्डमा चलचित्र प्रदर्शनमा ल्याउने घोषणा भने गरिसकेका छैनन्। ६ महिनादेखि बन्द हल सञ्चालनमा आउने कुराको ग्यारेन्टी नहुँदासम्म निर्माता भने चलचित्र प्रदर्शनमा ल्याउन डराएका हुन्।
चलचित्र निर्माता माधव वाग्लेले नयाँ चलचित्रले हल खुलेसँगै प्रदर्शनमा ल्याउने हिम्मत गर्न नसक्ने बताए। “हल खुले पनि तत्काल दर्शकहरू हलसम्म आउँछन्, भन्ने कुनै ग्यारेन्टी छैन। करोडौंको लगानी गरेका निर्माता त्यसरी जुवा खेल्ने जोखिम त लिन सक्दैनन्,” उनले भने।
शुरूमा विगतमा चलेका चलचित्र प्रदर्शनमा ल्याएर चलचित्रको गतविधि बढाउनुपर्ने र त्यसपछि मात्र राम्रो चलचित्र प्रदर्शनमा ल्याउनुपर्ने उनको भनाइ छ। “पहिला चलिसकेको चलचित्र प्रदर्शनमा ल्यायो भने दर्शक त तान्दैन, तर सिनेमा घरको चहलपहल भने बढाउँछ। त्यसपछि राम्रो चलचित्र प्रदर्शनमा ल्याउनुपर्छ,” उनले भने।
निर्माता तथा कलाकार दीपकराज गिरी भने चाँडै चलचित्र प्रदर्शनमा ल्याउनुपर्छ भन्ने पक्षमा छैनन्। कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार नभएको भन्दै त्यसका लागि सोच्नुपर्ने उनले बताए। हल खुले पनि तत्काल कोही पनि निर्माता आफ्नो चलचित्र प्रदर्शनमा ल्याउन हिम्मत गर्ने स्थितिमा नरहेको उनको भनाइ छ।
बोर्डले सहयोग गर्ने
अहिलेको अवस्थामा हल खुले पनि कुनै चलचित्रले प्रदर्शनको तयारी गरेका छैनन्। सोभित बस्नेतको चलचित्र लक्ष्मीपूजा दशैंमा प्रदर्शन गर्ने तयारी छ। तर, त्यसका लागि आवश्यक प्रचार भने गरिएको छैन। यस्तो अवस्थामा प्रदर्शनमा आउने चलचित्रलाई चलचित्र विकास बोर्डले सहयोग गर्ने जनाएको छ।
बोर्डका अध्यक्ष दयाराम दाहालले हल खुलेको ६ महिनाभित्र रिलिज हुने चलचित्रलाई विभिन्न खालको सहयोग गर्ने बताए। बोर्डले सर्भर इनकोडिङ चार्ज, पोस्टर छपाइ, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा विज्ञापनमा सहयोग गर्ने, हलमा चलचित्र रिलिज गर्दा लाग्ने प्रतिशोको चार्ज सबै बोर्डले नै तिर्नेलगायत सुविधा दिने छ।
त्यसका लागि बोर्डले योजना पास गरिसकेको उनले बताए। सरकारले हल सञ्चालनको अनुमति प्रदान गरेको खण्डमा उक्त योजना कार्यान्वयनमा जाने अध्यक्ष दाहालको भनाइ छ।