धनुषा | महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिहीबार राति वडा सचिवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
बलात्कार आरोपमा भंगहा नगरपालिका वडा नं. ९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादवलाई पक्राउ गरीएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पीडित महिलाको बुधबार राति स्वास्थ्य परीक्षण गरिएको छ ।
बलात्कारको घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा वडा सचिव पक्राउ परेपछि बुधबार राति भंगहामा घटना मिलाउनका लागि दबाब दिन पञ्चायतको भेलासमेत भएको बुझिएको छ ।स्थानीयका अनुसार भंगहाको हरिणमरीमा एक महिनाअघि पनि एक किशोरी बलात्कृत भएकी थिइन् । उक्त बलात्कारको घटना गाउँमै पञ्चायत बसेर मिलाइएको थियो ।