विरगंज । पछिल्ला केही दिनमा बलात्कार र हत्याका बीभत्स घटना सार्वजनिक भइरहेका छन् । बझाङकी १२ वर्षीया बालिका सम्झना कामी यसको पछिल्लो उदाहरण बनेकी छिन् । घरबाट आफ्नो गोठमा घाँसपराल गर्न जाँदा गाउँकै चिनेजानेको व्यक्तिबाट उनको बलात्कारपछि हत्या भएको थियो ।
यसअघि पनि घरगाउँमा यस्तै अपराध गर्दा कानुनको दायरामा नआएर समाजले बचाएको उक्त पुरुषले अर्को जघन्य अपराध गरेको बताइएको छ । यता सिराहामा सामूहिक बलात्कारपछि मृत्युको एउटा घटनामा समाजले बलात्कारीलाई बचाउन भूमिका खेलेको देखिएको छ । निर्मला पन्त हत्याकाण्डको अपराधीलाई दण्डित गर्न प्रशासन असफल भएपछि अपराधीको मनोबल झन् बढेको हुन सक्ने अनुमान गरिएको छ ।
यता प्रहरी महानिरीक्षक शैलेस थापाले ८७ प्रतिशत यौनहिंसा र जबर्जस्ती करणीका घटना आफन्तबाटै हुने गरेको बताएका छन् । पछिल्ला घटनामा बाबु, पति, दाइ, भाइ, काका, मामा र छिमेकी नै बालिकादेखि वृद्धासम्मको बलात्कारमा संलग्न भएको सार्वजनिक हुँदै आएको छ । यसले नेपालमा महिला सबैभन्दा बढी आफन्तबाटै या घरपरिवारका सदस्यबाटै असुरक्षित रहने गरेको देखाउँछ । यो हाम्रो समाजमा अपराध र अपराधीप्रति गरिने व्यवहार र शक्ति–सम्बन्धका अनेक आयामको सबैभन्दा घिनलाग्दो पाटोका रूपमा उजागर भएको छ ।
पुरुषप्रधान समाजका मूल्य–मान्यतालाई निरन्तरता दिने भालेवादी सोचाइले हरेक क्षेत्र ग्रस्त छ । परिणामतः परिवारभित्रै महिलाहरू असुरक्षित बन्छन् । राजनीतिक नेतृत्वले यस्तो विषयलाई अहिले पनि गम्भीरतापूर्वक नलिँदा समस्या झन् बल्झिँदै गएको छ ।
कसरी हाम्रो समाज यस्तो भयो, जहाँ छोरी–बुहारीहरू आफन्तबाट असुरक्षित हुँदै खुम्चिएर जिउनुपर्छ ? केही भइहाल्यो भने त्यही समूह मिलेर घटना लुकाउँछ । मेलमिलाप गराउँछ । बलात्कारीलाई छोरी दिएर पठाउँछ र बलात्कारीसँग मेलापात अर्मपर्म चलाउँछ । समाज र परिवारका सम्बन्धका अनेक आयाम हुन्छन् । यस्तोमध्ये एउटा शक्ति सम्बन्धको आयाम हो । यस्तो सम्बन्ध वर्गीय पनि हुन्छ । जातीय पनि हुन सक्छ । लैंगिक पनि हुन सक्छ ।
धार्मिक या जनसांख्यिक पनि हुन सक्छ । यस्ता सम्बन्धमा बेमेल या उँचनिचको परम्परा भएको समाजमा शक्तिमा माथि पर्नेले तल पर्नेको हुर्मत लिन्छ । लैंगिक हिंसा या बलात्कारका घटना पुरुष र महिलाको शक्ति सम्बन्धको उपज हो । सँगै यो यस्तो अनमेल शक्ति सम्बन्धलाई कायम राख्ने, महिलालाई तल पार्ने र दमन गर्ने विचारको निर्माण हाम्रो धार्मिक सांस्कृतिक विश्वास, परिवारको कथित इज्जत–प्रतिष्ठा, हिंसामा परेकी महिलालाई नै दोषी करार गरिदिने सामाजिक मनोविज्ञानले गरेको हुन्छ ।
यस्तो मनोविज्ञानलाई तोड्न, समानता तथा सम्मानसहितको सम्बन्ध कायम गर्न कानुन र संविधानको सहारा लिइन्छ । शिक्षा प्रक्रियामार्फत सामाजको चेतनामा हस्तक्षेप गरिन्छ । तर, हामीकहाँ न्यायिक, प्रशासनिक र चेतनाको क्षेत्रमा पनि समाजलाई बदल्न सक्ने गरी हस्तक्षेप भएको छैन । पुरुषप्रधान समाजका मूल्य–मान्यतालाई निरन्तरता दिने भालेवादी सोचाइले हरेक क्षेत्र ग्रस्त छ । परिणामतः परिवारभित्रै महिलाहरू असुरक्षित बन्छन् । राजनीतिक नेतृत्वले यस्तो विषयलाई अहिले पनि गम्भीरतापूर्वक नलिँदा समस्या झन् बल्झिँदै गएको छ । र, सम्झना कामीका सयौँ संस्करणको पुनरुत्पादन भइरहेको छ ।