बिरगंज । बोइलर कुखुराका चल्लालाई रङ लगाएर लोकलजस्तै बनाएर विक्री गर्ने गिरोह राजधानीमा पक्राउ परेको छ। महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले चार जना सप्लायरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ स्थित जैसवाल पोल्टी सप्लायर्सका सन्चालक बाराको कचोर्वाका ४९ वर्षीया प्रेमसिला देवी, ४१ वर्षीय वकिल खान, ३६ वर्षीय सुमित्रा जैसवाल र ४१ वर्षीया चन्दादेवी शाह छन्।
प्रेमसिला देवीको फर्ममा रहेको १० हजार पिस चल्लामध्ये १५ सयमा रङ लगाइएको, खानसँग रहेको ५१ सय पिस चल्लामध्ये ३ सय वटामा रङ लगाइएको, सुमित्रासँग रहेको ४ हजार पाँच सय पिस चल्लामध्ये एक सय ५० वटामा रङ लगाइएको र चन्दादेवीसँग रहेको चल्लामा रङ नलगाइएपनि रङ लगाउने तयारी भइरहेको अवस्थामा बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
यस्तै गुन्जा भन्ने एक व्यक्तिको १७ सय पिस चल्लाको पनि रङ परिवर्तन गरिएको अवस्थामा फेला परेको तर ती व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। उनिहरुले चितवनको एक पोल्ट्री फार्मबाट ती चल्लाहरु ल्याएका थिए।