विरगंज। आज सेप्टेम्बर २९, विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ ।
प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ ।विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ । सन् २०१२ देखि सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाउन थालिएको थियो । यसअघि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् दुई हजारदेखि सेप्टेम्बरको अन्तिम आइतबार यो दिवस मनाउन थालेका थिए ।
अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ । चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो, बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।