वीरगंज। वीरगंजस्थति नारायणी अस्पतालमा गएराति गरिएको पिसिआर परिक्षणमा एक जना बैंकरसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार गएरति १ सय ९२ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका २४ जना र बाराका एक जनागरी दुई महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सामा संक्रमण पुष्टि भएकामध्ये एक जना एभरेष्ट बैंकमा कार्यरत ३५ वर्षीय कर्मचारीपनि रहेका छन् । त्यसैगरी थपिएका अन्य संक्रमितहरुमध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा रहेका छन् ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का आठ जना, वडा नम्बर २१ का पाँच जना, वडा नम्बर २९ का दुई जना र वडा नम्बर १५ र १६ का एक/एक जनागरी कुल १७ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का पाँच जना र सुवर्णपुर् वडा नम्बर ५ का पनि एक जना संक्रमित भएको डाक्टर चौरसियाले जनाए ।उनले बारा जिल्लाको महागढी माई नगरपालिका वडा नम्बर ७ का एक जनामा पनि संक्रमण देखिएको जानकारी गराए ।
नयाँ पुष्टि भएका संक्रमितहरु १८ वर्षदेखि ७० वर्ष उमेर समुहसम्मका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए । उनले २४ भन्दा माथि सिटि भ्यालु भएको संक्रमितले अन्यमा संक्रमण फैलाउने सम्भावना न्यून रहेको जानकारी समेत दिए ।