वीरगंज। सरकारले देशमा निरन्तर कोरोना संक्रमित बढिरहेको कारण यसको जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने प्रष्ट पारेको छ ।सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा कोरोना जोखिमबारे अझै पूर्वानुमान गर्न सकिने अवस्था नभएको प्रष्ट पार्नु भएको हो । सरकारले जीवन र जीविकाबीच सन्तुलन ल्याउनका लागि मात्र धेरै क्षेत्र खुला गरेको पनि उहाँको भनाइ थियो ।
मन्त्री ज्ञवालीले अहिलेको यो समय सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत रहेको बताउनुभयो । उहाँले नेपालको महान चाडपर्व दशैं तिहार आउन लागेको र चाडपर्वको बेलामा थप सतर्क हुनुपर्ने अवस्था आएको पनि बताउनु भयो ।
सर्वसाधारणले सरकारी आदेश निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै मन्त्री ज्ञवालीले खुला सीमाना भएको मुलुकमा जति भयावह हुन सक्थ्यो त्यति नभए पनि जोखिम भने अझै चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो ।
आइतबार बसेको मन्त्रिपरिषद् वैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेनलमा मन्त्री ज्ञवालीले जोसुकैलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्न आग्रह पनि गर्नुभयो । पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै उहाँले यस्को कार्य नगर्न आग्रह समेत गर्नुभयो ।स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन सरकारको अपील रहेको पनि उहाँले सुनाउनु भयो ।