बिरगंज । पर्सामा पनि भौतिक रुपमा विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न दिन माग गर्दै निजी विद्यालयहरुले आज पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बझाएका छन् ।पर्सा जिल्लामा शैक्षिक संस्था बाहेक अन्य सबै खुलिसकेको अवस्थामा शैक्षिक संस्था मात्र बन्द गर्नुले कोरोना संक्रमण रोकिने वा न्युन नहुने भन्दै निजी विद्यालयहरुले संगठन प्याब्सन र एन प्याब्सनले ज्ञापन पत्र बुझाएको हो ।
अझै पनि शैक्षिक संस्था बन्द रहने हो भने आबद्ध संस्थापक, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सबै प्रभावित हुने भएकाले निश्चित मापदण्ड अपनाएर विद्यालय खोलेर पठन पाठन सुचारु गर्न दिन उनीहरुले माग गरेका छन् ।कोरोनाका कारणले सबैभन्दा धेरै प्रभावित रहेको शैक्षिक संस्था अझै पनि शैक्षिक संस्था खोल्न नदिए ताला र चाबी नै सरकारलाई बुझाउन पर्ने अवस्था आउन सक्ने निजी विद्यालयहरुको चेतावनी छ ।
यस्तै, वैकल्पिक विधि अनलाईन कक्षाबाट प्रभावकारी रूपमा सिकाई हासिल हुन नसकिरहेको र धेरै विद्यालयहरु विविध कठिनाईका कारण अहिले पनि यो विकल्पमा जान नसकेको निजी विद्यालयहरुको भनाई छ ।समस्या, चुनौती र बाध्यतालाई मध्यनजर गर्दै यथासिघ्र शैक्षिक संस्था खोल्ने सम्बन्धमा उचित पहल र निर्णय गरिनुपर्ने भन्दै निजी विद्यालयहरुले प्रमुख जिल्ला अधिकारी तामाङलाई ध्यानाकषर्ण गराएका छन् ।
एनप्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरी, प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसिया, लिटिल एन्जल्स माविका संस्थापक मनि पाख्रिन र मिनील्याण्ड माविका संस्थापक लालबाबु प्रसाद पटेल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।