गत वर्ष कात्तिकमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश पाएलगत्तै वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. गोविन्द केसी काठमाण्डूबाट बाहिरिए।दोलखास्थित आफ्नो मावली गाउँ हुँदै उनी पूर्वी नेपालका जिल्लातिर गएको उनका आफन्तहरू सुनाउँछन्। त्यसयता उनी एक महिनाजति पनि काठमाण्डू बसेका छैनन्।
उनका निकटवर्तीहरूका अनुसार ६४ वर्षीय केसीले डडेल्लधुरा जिल्ला अस्पतालमा एक महिना स्वयंसेवा गरे अनि बाँकी समय पश्चिम नेपालका एक दर्जन जिल्लामा स्वास्थ्यसेवा उपलब्ध गराउँदै हिँडे।तर गत साता उनी जुम्लामा आमरण अनशनमा बसेका सरकारले केही दिनपछि काठमाण्डू लिएर आएको छ।
आठ दिनसम्म जुम्लाको बाबिरा मस्टा मन्दिरमा अनशन बसेका डा. केसी गएको बुधवारयता काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। यो उनको १९ औँ अनशन हो।
त्यसयता प्रधानमन्त्रीकी निजी चिकित्सक पनि रहेकी चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन डा. दिव्या सिंहले डाक्टर केसीलाई भेटेको भए पनि सरकारी पक्षसँग कुनै औपचारिक कुराकानी भएको छैन।
नेपालगन्जबाट डाक्टर केसीलाई साथमै लिएर राजधानीमा आएका उनका एक आफन्त हिमालय कार्की भन्छन्: “वहाँले आफूलाई धेरै धोका भएकोले अडान नछोड्ने बताउनुभएको छ। विगतमा कहिले प्राकृतिक प्रकोप त कहिले के भनेर आफूले अनशन रोकेको तर सम्झौता भए पनि आफ्ना माग अझै पूरा नभएको भनिरहनुभएको छ।”
शिक्षण अस्पतालबाट अवकाश पाएलगत्तै स्वयंसेवाका लागि निस्किएका केसीले एक महिनाभन्दा कम समय राजधानीमा बिताएको र कैयौँ दुर्गम स्थानमा स्वास्थ्यसेवा दिएको उनले बताए।
के लेखे डाक्टर केसीले सांसदहरूलाई खुलापत्रमा
डा केसी फेरि असन्तुष्ट, कारण यस्ता छन्
कार्कीले भने, “अवकाश पाएको १० महिनामा सायद १६-१७ दिनमात्रै काठमाण्डूमा बसेको उहाँले भनिरहनुभएको छ। डडेलधुरा अस्पतालमा एक महिना स्वयंसेवा गरेर बस्नुभयो। यो अनशन अघि त्यहाँका बिरामीहरूलाई बैसाखी र औषधि किन्न भनेर तीन-चार दिनका लागि छ महिनाअघि राजधानी आउनुभएको थियो।”
डडेलधुराबाट डा. केसी स्वास्थ्यसेवा पुर्याउन दार्चुला, बैतडी, डोटी, अछाम, कालीकोट, डोल्पा, मुगु, जुम्लासहितका जिल्लामा पुगेको उनीनिकट चिकित्सक डा. जीवन क्षेत्री बताउँछन्।
अवकाश पाएयता केसीले सत्रौँ अनशन डडेलधुरामा र सोह्रौँ अनशन दार्चुलामा बसेका थिए।
नेपाल-भारत सीमा विवाद देखिएपछि उनले डडेलधुराको अनशन रोकेका थिए।
डोल्पासहित कतिपय जिल्लाका स्थानीय चौकीमा स्वास्थ्यसेवा उपलब्ध गराउन जाँदा आफूलाई सत्तारूढ दलका स्थानीय जनप्रतिनिधिले दुर्व्यवहार गरेको डा. केसीलाई उद्धृत गर्दै विवरणहरू आएका थिए।
यसै साता जुम्लाबाट फर्किने क्रममा नेपालगन्ज बसेर राजधानी आउँदा केसीलाई उनको इच्छाविपरीत प्रहरीले राजधानीको ट्रमा सेन्टरमा लगेपछि त्यसको चर्को आलोचना भएको थियो।
केसीले शिक्षण अस्पतालमा मात्रै आफूले स्वास्थ्यसेवा लिने अडान राखेपछि उनलाई पछि त्यहाँ लगिएको थियो।
विपक्षी दलका नेता र नागरिक समाजका अगुवाले त्यसलाई प्रहरीले गरेको दमनका रूपमा अर्थ्याएका थिए।
यसपटक उनले विगतमा आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्याइर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रकिया थालिनुपर्ने जस्ता विभिन्न माग राखेका छन्।
विसं २०६८ सालमा खुलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीस कक्षा सञ्चालनका लागि चाल्नुपर्ने कदमका बारेमा सरकारले गठन गरेको एउटा टोलीले डेढ वर्षअघि प्रतिवेदन बुझाए पनि त्यसको कार्यान्वयन भएको छैन।
त्यस्तै सुदूरपश्चिमको कैलालीमा स्थापना गरिएको गेटा मेडिकल कलेज र प्रदेश नं ५ मा स्थापित राप्ति मेडिकल कलेजलाई स्रोतसाधन सम्पन्न गराएर अध्ययन सुरु गराउनुपर्ने उनको माग छ।
डा. गोविन्द केसी १६औँ पटक अनशनमा
अदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ
त्यसबाहेक कोरोनाभाइरस महामारी नियन्त्रणका लागि पीसीआर परीक्षण व्यापक बनाउन र सबै बिरामीहरूले उचित उपचार पाउने व्यवस्था हुनुपर्ने उनको भनाइ रहेको छ।
दातृनिकाय तथा गैरसरकारी संस्थाको सहयोगका कारण विगतमा राम्रोसँग सञ्चालन भएपनि पछिल्लो समय स्रोतसाधनको अभाव खेपिरहेको अछामको बयलपाटा अस्पताललाई पर्याप्त स्रोत तथा साधन उपलब्ध गराउनुपर्ने पनि उनको माग छ।
केसीले आफूसँग २०७५ साल साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने भन्दै उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा मापदण्ड मिचेर भएका नियुक्तिहरू खारेज गर्न भनेका छन्।
सरकार मौन
विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्ति हुने कानुनी व्यवस्था गर्दा र विभिन्न ठूला भनिएका अनियमितताका प्रकरणबारे जाँच गर्न उनले माग गरेका छन्।
त्यसमा आयल निगमको जग्गा खरिददेखि विमान र सुरक्षा प्रिन्टिङ प्रेस खरिद, दरबारमार्गको जग्गा र कोरोनाभाइरस माहामारीका बेला विवाद निम्त्याएको ओम्नी समूहद्वारा गरिएको औषधि खरिद जस्ता विषयहरू पनि पनि छन्।
उनले बालुवाटार जग्गा काण्डमा लाभ लिएका सत्तारूढ दलका नेतामाथि छानबिन गरी कारबाही अघि बढाउन र भ्रष्टाचार प्रकरणमा कारबाही नगरी उन्मुक्ति दिइएको पाइए बहालवाला तथा सेवानिवृत्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि अनुसन्धान र कारबाहीको माग पनि गरेका छन्।
तर केसीको यो अनशन र उनका मागबारे सरकारले कुनै प्रतिक्रिया दिएको छैन।
एउटा टीभी कार्यक्रममा डा. केसीको आलोचना गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त विषयमा आफूले नबोल्ने भन्दै शिक्षामन्त्रीसँग सम्पर्क गर्न सुझाए।
शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पनि उक्त विषयमा आफूले प्रतिक्रिया दिन नसक्ने बताए।
नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि एक दशकमा झन्डै २४० दिन अनशनमा बसेका डा. केसीले अनियमितताविरुद्ध एक्लै भए पनि निरन्तर आवाज उठाउने सत्याग्रहीको छवि बनाएको पाइन्छ।
त्रिभुवन विश्वविद्यालयका भूतपूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमा भन्छन्, “अनशनमा बसिरहनुभएका डाक्टर केसीलाई सरकारले नदेखेको जस्तै गर्न मिल्दैन। राज्यले पटकपटक सम्झौता गरे पनि उहाँले धोका पाउनुभएको छ। उहाँले आफ्नो लागि केही पदवी र पदक माग्नुभएको होइन। राष्ट्रका लागि चाहिएकै माग उहाँले उठाउनुभएको छ।”
माथेमाले राज्यले वार्तामा बसेर डा. केसीका माग सम्बोधन गर्नुपर्ने र विगतमा भएको सम्झौता कार्यान्वयन गर्न संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए।
चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन जगदीशप्रसाद अग्रवालले डा. केसीमा मागहरूमाथि राजनीतिक रङ्ग दिनु आवश्यक नभएको टिप्पणी गरे।
उनले भने, “नेपाली जनतालाई स्वास्थ्य र शिक्षा दिने दायित्व निजी क्षेत्र भन्दा राज्यको हो। नेपाल सरकारले आफ्नो स्वास्थ्यसेवालाई जसरी विस्तार गर्नुपर्थ्यो त्यो गरेको छैन। सरकारले कानमा तेल हालेर सुतेको छ। हिजो पनि डा. केसी सही थिए र आज पनि सही छन।”
पछिल्लो समय कोभिड-१९ महामारीलाई हेर्दा स्थानीय स्तरमा रहेका स्वास्थ्य संरचना बलियो बनाउनुपर्ने उनको मागलाई अझ सान्दर्भिक बनाइदिएको प्राध्यापक अग्रवाल बताउँछन्।
चिकित्सक केसीको अनशनपछि चिकित्सा शिक्षा ऐन आएको, विद्यार्थी भर्ना र कलेज सम्बन्धनमा हुने गरेका अनियमितता रोकिएको, एमबीबीएस शुल्क जथाभावी असुल्ने परिपाटी रोकिएको, वरिष्ठताका आधारमा डीनको नियुक्ति हुने अभ्यास अघि बढेको जानकारहरू बताउँछन्।
‘नि:स्वार्थ सेवा‘
सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन्।
सरकारी कोटामा छात्रवृत्ति पाएर पढेको हुनाले आफूले देश र जनताका लागि केही गर्नुपर्ने बलियो अठोट डाक्टर केसीले राख्ने गरेको पाइन्छ।
उनी अविवाहित छन्। अनि आफ्नो तलब र अहिले निवृत्तिभरणबाट आउने रकम पनि विपन्न मानिसहरूञको उपचारमा खर्च गर्दै आएको बताइन्छ।
उनका आफन्त हिमालय कार्कीका अनुसार डा. केसीले नेपालमा लगभग सबैजसो जिल्लामा दुईदेखि तीनपटक नि:शुल्क स्वास्थ्य सेवा दिइसकेका छन्।
त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीहरूलाई उपचार र औषधि उपलब्ध गराएका छन्।