आत्महत्या विश्वमै एउटा ठूलो समस्या बनेर उदाएको छ ।मान्छेले आत्महत्या किन गर्छ र कसरी रोक्न सकिन्छ भनेर विश्वमा धेरै मनोरोग विशेषज्ञहरू अध्ययन अनुसन्धानमा जुटिरहेका छन्, तर कुनै आत्महत्या समाधानको कुनै एक ठोस निष्कर्षमा पुगिसकेका छैनन् ।कोही कसैले आत्महत्याको बारेमा सोचिरहेको छ भने उसले केही दिनअघि देखि नै संकेतहरू देखाउन शुरू गर्छ । आत्महत्याबारे लेखिएका कतिपय जर्नलहरूमा ती संकेतका बारेमा लेखिएको छ ।
आत्महत्या गर्न चाहनेले देखाउने पहिलो संकेत हो उसमा देखिने भावनात्मक परिवर्तन । जब कसैले आत्महत्याका बारेमा सोचेको हुन्छ उसको मनोभावमा परिवर्तन आउँछ । उसले हरेक कुरा फरक कोणबाट सोच्न शुरू गर्छ ।यो संकेत परिवार र नजिकका साथीहरूले अनुभव गर्न सक्छन् । यदि सही समयमा यस्ता संकेत देखियो भने आत्महत्याबाट जोगाउन सकिन्छ ।
आत्महत्या गर्न चाहनेले देखाउने अर्को संकेत भनेको मृत्युको बारेमा बढी कुरा गर्न खोज्नु हो ।’म मरेपछि के होला ? मान्छे मर्नकै लागि जन्मिने हो भने किन जन्मिएको होला ?’ जस्ता प्रश्नहरू आफूनिकटका व्यक्तिहरूसँग उसले गर्न शुरू गर्छ । आत्महत्या गर्नेले देखाउने अर्को संकेत हो, महत्त्वपूर्ण व्यक्तिहरूसँग कुरा गर्न चाहनु ।
उसलाई जब आफ्नो जिन्दगीदेखि विरक्त लाग्छ र मृत्यु नै विकल्प हो भन्ने सोच्छ त्यतिबेला सबैलाई हाई हेलो गरौँ न त भन्ने दिमागमा आउँछ ।उसले लिस्ट नै बनाएर आफू नजिकका केही महत्त्वपूर्ण व्यक्तिहरूसँग कुराकानी गर्न शुरू गर्छ । यस्तो कुराकानी कुनै विषयकेन्द्रित भने हुँदैन ।किन भेट्नु भनेर कसैले सोध्यो भने उसले ‘२ दिनको जिन्दगी हो, यसो भेटघाट गरौँ न’ भन्ने जवाफ दिन्छ ।
आत्महत्या गर्न चाहने व्यक्तिले देखाउने अर्को संकेत हो – सुत्ने समय परिवर्तन हुनु । उ ढिलो सुत्ने गरेको छ भने चाँडो सुत्न थाल्छ । बिहान छिटो उठ्ने गरेको छ भने उ ढिलो उठ्न थाल्छ । यस्तो संकेत परिवारका सदस्यहरूले तत्काल पत्ता लगाउन सक्छन् र समयमै उसलाई के समस्या परेको हो सोधेर समाधान गर्न सक्छन् ।
सुत्ने मात्र होइन, आत्महत्या गर्न चाहनेले खाने समय र छनोट पनि परिवर्तन गर्छ । उसले नयाँ नयाँ खानाहरू खाने मन गर्न सक्छ । कहिले धेरै खाने र कहिले खाँदै नखाने जस्तो संकेत देखाउन सक्छ । आत्महत्या गर्न चाहनेले रक्सी, चुरोट या अन्य कुलतमा लागिसकेको छ भने त्यसलाई जबर्जस्ती छोड्ने प्रयास गर्न सक्छ ।यदि कुलतमा फसेको छैन भने त्यस्ता चीजहरू सेवन गर्न शुरू गरेको हुन सक्छ । त्यस्ता चीजहरू सेवन गर्ने काम उसले एक दुई दिनमै गर्छ ।
अर्को महत्त्वपूर्ण संकेत हो – एकान्तमा हराउनु । आत्महत्या गर्न चाहनेले एकान्त ठाउँ रोज्छ । रुन्छ । आफ्नो कमजोरीका बारेमा एक्लै कुरा गर्छ । उसले एक्लै हुँदा इन्टरनेट सर्च पनि गर्न सक्छ ।
पहिल्यै आत्महत्या गरेका व्यक्तिहरूको बारेमा खोजेर पढ्न शुरू गर्न सक्छ । आत्महत्या गरेपछि परिवारमा के होला भन्ने कोणबाट पनि उसले एक्लै हुँदा सोचिरहेको हुन्छ ।