वीरगंज | नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी ११ करोड ३१ लाख रूपैयाँ राजस्व छली गरेको अभियोगमा विभिन्न कम्पनीका सञ्चालकविरूद्ध मुद्दा परेको छ।
राजस्व अनुसन्धान विभागले चितवनको सन्तोषी निर्माण सेवा प्रालि र ललितपुरको स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स प्रालिसहित तीन कम्पनीका सञ्चालकहरूविरूद्ध उक्त विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
विभागले चितवनको भरतपुर–२ स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक केशवराज कँडेलसमेत तीन जनाविरुद्ध ६ करोड २२ लाख ७४ हजार रूपैयाँ विगो कायम गरी गत भदौ ११ गते मुद्दा दर्ता गरेको जानकारी दिएको छ।
उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकमात्र खरिद गरेर विगो रकम बराबरको राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ। उक्त मुद्दामा कम्पनीका सञ्चालक कँडेलसहित तीन जनाबाट विगो बराबरको रकम असुली, जरिवाना तथा कैद सजाय मागदाबी गरिएको छ।
यता ललितपुर महानगरपालिका–१३ स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स प्रालि, यति इन्रनेशनल प्रालि र रिवाज इन्टरनेशनल प्रालिका सञ्चालकविरूद्ध सोही अभियोगमा अर्को मुद्दा दर्ता भएको छ। विभागले गत साउन २२ गते सो मुद्दा उच्च अदालत पाटनमा दर्ता गरेको हो।
उल्लेखित कम्पनीका सञ्चालकहरूले वस्तु तथा सेवा खरिद नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकमात्र खरिद गरेर पाँच करोड आठ लाख ९४ हजार रूपैयाँ राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ।
उक्त मुद्दामा स्काई लाइन ट्रेडर्सका प्रोप्राइटर वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलका प्रोपाइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनलका सञ्चालक हर्ष चौधरीबाट उक्त विगो बराबरको रकम असुली, जरिवाना तथा कैद सजाय मागदाबी गरिएको छ।