वीरगंज। कोभिड–१९ महाब्याधीको शुरुवात चीनबाट भयो । चीनको हुवेई प्रदेशको राजधानी शहर वुहानबाट । डिसेम्बरको अन्त्यतिर वुहान सिटी हस्पिटलमा कोभिड–१९ को पहिलो केश देखिएको थियो ।
प्रारम्भमा चीन आफै नझुक्किएको हैन । नोबल कोरोना नामक नयाँ भाइरसको अस्तित्व छ कि छैन भन्ने विषयमा नै स्वास्थ्यकर्मी र प्रशासनकहरु द्विविधामा थिए। चिनियाँ प्रहरीले कोरोना भाइरसको अस्तित्व दावी गर्ने केही स्वास्थ्यकर्मीलाई अफवाह फैलाएको आरोपमा नियन्त्रणमा समेत लिएको थियो । ती मध्ये एक चिकित्सकको मृत्यु प्रहरी हिरासतमै भएको थियो, जो पछि कोरोना संक्रमित पुष्टि भए ।
त्यसको एक महिनापछि विश्वस्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल घोषणा गर्यो । त्यतिन्जेलसम्म संक्रमितहरु ३० हजार बढी भइसकेका थिए । मृत्यु हुनेको संख्या ३ हजार पुग्न लागेको थियो । पश्चिमा सञ्चार माध्यमले चीनलाई ‘एसियाको बिमार राष्ट्र’को उपाधि दिएका थिए ।
आज स्थिति ठीक उल्टो भएको छ । संसारका अधिकांश देशमा कोरोना तीव्र संक्रमण भइरहेको छ । तर चीनमा भने लगभग नियन्त्रणमा आएको छ । भारतमा प्रतिदिन ९० हजार बढी संक्रमित पुष्टि भइरहँदा चीनमा मुस्किलले २०–३० जना संक्रमित भेटिँदैछन् ।
अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख बढी भइसक्दा चीनमा ४६३४ मा मर्ने क्रम रोकिएको छ । कुल संक्रमितको संख्या करिब ८५ हजार छ । ४० बढी देशमा चीनभन्दा धेरै संक्रमण पुगिसेको छ ।
चीनमा मृत्युदर शुरुवातमा १८ प्रतिशतसम्म थियो । अहिले ५.४ प्रतिशतमा सीमित भएको छ । कोरोना उद्गमस्थलको अपजस पाएको चीनले आखिर के त्यस्तो गर्यो ? जसले गर्दा अरु देशको तुलनामा कोभिड–१९ को प्रभावकारी नियन्त्रण गर्न सक्यो । चीनले निम्न तरिका अपनाएको थियो ।
कडा लकडाउन
चीनले वुहानलगायत हुबेइ प्रदेशका सबै शहरी क्षेत्रमा करिब ३ महिना लामो लकडाउन गर्यो । लकडाउन बिल्कुलै कडा थियो । मानिसलाई कम्पान्डबाट बाहिर निस्कने अनुभूति थिएन । नियमित किनमेल गर्नुपर्ने सामानहरु अर्डरको आधारमा होम डेलिभरी हुन्थ्यो । प्रति दुईपरिवार एक सदस्य २ घण्टाका लागि मात्र कम्पाउन्ड बाहिर आउन सक्ने प्रावधान थियो ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने बाहेक सबै यातायातका साधन बन्द गरिएको थियो । ३ महिना नि ढुक्क भएर बस्न, कुनै भरअभर भए नगरपालिकालाई खबर गर्न आदेश जारी गरिएको थियो ।
अन्य प्रदेशमा कडाई
हुवेई प्रदेशबाट अन्य प्रदेशमा आवतजावत गर्न निषेध गरिएको थियो । यदि कोही कारण वंश अरु प्रदेशमा पुगेमा अनिवार्य १४ दिन सरकारी क्वारेन्टिनमा बस्नु पर्थ्यो । अन्य प्रदेशका प्रशासकलाई उच्च सतर्कतामाको अवस्थामा राखिएको थियो । यदि गर्दा गर्दै ३० बढी प्रदेश र शहरमा कोरोना पुग्यो तर थोरै संख्यामा । जस्तो कि तिब्बत प्रदेशमा अहिलेसम्म १ जना मात्र कोरोना संक्रमित भेटिए जो वुहानबाटै तिब्बत भएका थिए ।
वुहानमा कोरोना अस्पताल
चीनले वुहानमा १० दिनभित्र १००० बेडको भिन्नै कोरोना अस्पताल बनायो । यो खबरले विश्व नै चकित भएको थियो । यो अस्पताल फेब्रुअरी ३ देखि प्रचलनमा आएको थियो । कोरोना बिमारीलाई अन्य साधारण अस्पतालमा लगिएन । यो अस्पतालले निशुल्क सघन उपचार उपलब्ध गराएको थियो ।
स्वास्थ्य सामग्री उत्पादनमा जोड
स्वास्थ्य सामाग्री उत्पादन गर्ने सरकारी तथा निजी कम्पनीहरुलाई कोरोना सम्बन्धी सामग्रीको उत्पादन तीव्र पार्न लगाइयो । मास्क, सेनिटाइजर, पिपिई, भेन्टिलेटलर, किट्स, पिसिआर मेसिन आदि उत्पादनमा जोड दिइयो । चीन कम्पनीले देशको आवश्यकतालाई पुरा मात्र गरेनन्, पर्याप्त मात्रामा स्वास्थ्य सामग्री निर्यात समेत गरे ।
सार्वजनिक स्थलहरुको निस्संक्रमण
कोरोना भाइरसबाट निस्संक्रमणका लागि सार्वजनिक स्थलहरुमा औषधि छिट्ने कार्यक्रम चलाइयो । सडकहरु धोइयो । बसपार्क, चोक, गार्डेन, चौर आदिमा औषधि छिटियो । घर, गल्ली र अन्य सार्वजनिक स्थलहरु समेत निस्संक्रमित गरिएको थियो ।
स्वास्थ्य मापदण्ड
निर्धारित स्वास्थ्य मापदण्ड लागू गर्न जनसाधारणलाई प्रेरित गरियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, खाद्यपेय आपूर्तिकर्ता आदि सबैले पिपिई प्रयोग गरे । मास्क र सेनिटाइजरको प्रयोगलाई व्यापक जोड दिइयो ।
केन्द्रीय कमाण्ड
कोरोना प्रतिरोध रणनीति निर्धारण गर्ने, निर्देशन तथा अनुगमन गर्ने जिम्मा राष्ट्रपति सि जि पिङले आफैं सम्हाले । कोरोनाकै बीच हुवेई र वुहान गए । अन्य प्रदेशहरुको तयारीमा विशेष निर्देशन गरे ।
यी ७ उपाय प्रभावकारी भइदिँदा कोरोना संक्रमणको दर न्युन बन्यो । फलतः थोरै बिमारीको राम्रो हेरचाह गर्न सम्भव भयो । मृत्युदर स्वात्तै घट्यो ।
महामारीको अन्त्यसम्म स्थिति कसरी जान्छ भन्न सकिन्न तर अहिलेलाई चीनले कोभिड–१९ लगभग नियन्त्रणमा लिएको छ । चीनमा कोरोना विरुद्धको भ्याक्सिन समेत परीक्षण भइसकेको छ । आगामी नोभेम्बरदेखि जनस्तरमा खोप दिन थालिने चिनियाँ अधिकारीले बताएका छन् ।