वीरगंज | गत वर्ष चीनको वुहानमा पहिलोपटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व प्रताडित छ । विश्वभर कोरोनाभाइरसका कारण अर्थतन्त्र डामाडोल भएको छ, लाखौँ मानिसले यसका कारण ज्यान गुमाएका छन् । अनि करोडौं मानिस यसका कारण प्रत्यक्ष प्रभावित भएका छन् ।
कोरोनासँग सम्बन्धित शुक्रबारका केही तथ्यांक हेरौँ । नेपालमा शुक्रबार मात्र ११ हजार ४ सय ५८ जनामा कोरोना परीक्षण गरिएको थियो । यति परीक्षण गर्दा २ हजार २० जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । यो नै अहिलेसम्म नेपालमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको पहिलो पटक हो ।
नेपालमा शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ७ रहेको छ । योसँगै नेपालमा शुक्रबारसम्म ३ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै, शुक्रबार नेपालमा ८ सय ७१ जना कोरोनाबाट ठिक भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।