द्वापर युगमा अर्जुनलाई आफू श्रीकृष्णको परमभक्त भएको घमण्ड चढ्छ । त्यो थाहा पाएपछि अर्जुनको अहंकार तोड्नका लागि श्रीकृष्णले सँगै घुमाउन लग्नुहुन्छ । घुम्दै गर्दा एक सुकेको घाँस खाइरहेको एक गरीब ब्राह्मणमा नजर पुग्छ । उनको कम्मरमा तरवार झुण्डिरहेको हुन्छ ।’अर्जुनले उनलाई सोध्छन्, ‘तपाईं त अहिंस्रक ब्राह्मण हुनुहुन्छ । जीव हिंसा होला भनेर सुकेको घाँस खाएर बाँचिरहनुभएको छ । तर हिंसाको उपकरण तरवार किन लिनुभएको त ?’
गरीब ब्राह्मण जवाफ दिन्छन्, ‘म केही मानिसलाई दण्ड दिन चाहन्छु ।’अर्जुनलाई आश्चर्य लाग्छ र सोध्छन्, ‘तपाईंका शत्रु को हुन् ?’
ब्राह्मण भन्छन्, ‘म चारजनालाई खोजिरहेको छु । पहिलो त म नारदलाई भेट्न चाहन्छु । उनी मेरा प्रभुलाई भजन कीर्तन गरेर सुत्नै दिँदैनन् । दोस्रो, म द्रौपदीप्रति क्रोधित छु । प्रभु खान बस्नै लाग्दा उनले पुकारिन् । प्रभुले
भोजन छोडेर पाण्डवहरूलाई दुर्वासा ऋषिको सरापबाट बचाउन जानुपर्यो । अनि उनले प्रभुलाई जुठो खाना खुवाइन् ।’अर्जुनले सोधे, ‘अनि तेस्रा शत्रु को हुन् ?’
‘उनी हुन् हृदयहीन प्रह्लाद । उनले मेरा प्रभुलाई खम्बाबाट प्रकट हुन बाध्य बनाए ।’‘चौथा शत्रु हुन् अर्जुन । उनले भगवानलाई युद्धमा आफ्नो सारथि बनाए । भगवानको असुविधालाई उनले ध्यान दिएनन् । प्रभुलाई कति कष्ट भयो होला ?’
यति भन्दै गर्दा गरीब ब्राह्मणको आँखाबाट आँसु निस्कियो । यो सब सुनेपछि अर्जुनको अहंकार चकनाचुर हुन्छ ।
उनले श्रीकृष्णतर्फ फर्केर भने, ‘म नै तपाईंको परमभक्त हुँ भन्ने घमण्ड थियो । तर संसारमा तपाईंका अनन्य भक्तहरू थुप्रै छन् । म त केही पनि होइन रहेछु ।’