वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर मृत्यु भएका ६० जना नेपालीको शव त्यहाँ अलपत्र परेको छ।
कोरोना महामारीका कारण हवाई उडानहरू बन्द हुँदा शवहरू नेपाल पठाउन नसकिएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।
कोरोनाका कारण विदेशमा मृत्यु हुनेहरूको शवको सम्बन्धित परिवारको सहमतिमा सरकारले उतै अन्तिम संस्कार गर्ने गरेको छ। अन्य कारण मृत्यु भएकाहरुको शव भने नेपाल ल्याएर सम्बन्धित परिवारलाई बुझाउने गरिन्छ।
साउदीमा अलपत्र ६० शवहरूमध्ये केही कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने र केही अन्य कारण मृत्यु भएकाहरू रहेको दूतावासले जनाएको छ।
साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतका अनुसार ती शव नेपाल ल्याउने प्रक्रियामा रहेका छन्।
कोरोना महामारी शुरू भएयता हालसम्म विदेशमा विभिन्न कारणले मृत्यु भएका ३०० नेपालीको शव नेपाल ल्याइएको छ।