नेपालमा शास्त्रीय संगीत शताब्दीऔंदेखि चल्दै आएको छ। १३औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हुँदै आएको उत्तर भारतीय संगीत नै शास्त्रीय संगीत हो। हिन्दुस्तानी शास्त्रीय संगीत पनि भनिने यसमा सितार, सरोद, हार्मोनियम, तबलाजस्ता मुख्य बाजा र ध्रुपद, खयाल, ठुमरी, गजल, भजन, कब्बालीजस्ता गायनशैली पर्छन्। यो दक्षिण एसियाकै प्रतिनिधित्व गर्ने शास्त्रीय संगीत हो।
राजा, महाराजाहरूले शास्त्रीय संगीतको संरक्षण गर्दै आएका थिए। दरबारमा ओस्तादहरूको ठूलो मानसम्मान हुन्थ्यो। सन् १८५७ मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तका हिन्दु राजा, मुसलमान नवाबहरू पलायन हुँदा शास्त्रीय संगीतले संरक्षण पाएन। शास्त्रीय संगीतका कतिपय कलाकार दरबारबाट सडक, कोठी, मदिरालयमा समेत संगीतको उपयोग गर्न बाध्य भए।
कोठीमा नाच्ने तबायफदेखि थिएटर तथा सडकमा नाच्ने नौटंकीहरूलाई सिकाउनु र गाउनु, बजाउनुपर्ने अवस्थाले समाजमा यसलाई हेर्ने दृष्टिकोण फरक भइसकेको थियो। त्यस्तो अवस्थामा नेपालमा भने राणा शासकहरूले दरबारमा संरक्षण दिएर शास्त्रीय संगीतकर्मीको मान बढाएका थिए।
सन् १८८५ पछि वीरशमशेरको पालामा नेपालमा भारतबाट शास्त्रीय संगीतकर्मीको ठूलै जमात छिरेको थियो। वीरशमशेरको दरबारलगायत उनका भाइभारदारका दरबारमा समेत भारतीय शास्त्रीय संगीतकर्मीले रौनक बढाएका थिए। तर राणाशासनको पतनसँगै शास्त्रीय संगीतको जगजगी नेपालमा पनि रहेन।
२००७ सालमा रेडियो नेपाल स्थापनासँगै आधुनिक गीतसंगीतले बढी स्थान पाउन थाल्यो। त्यसो त रेडियो नेपालले शास्त्रीय संगीत कार्यक्रम पनि दिन्थ्यो। शास्त्रीय संगीत प्रतियोगिता पनि आयोजना गथ्र्यो। तर सहभागी कम भएको भन्दै प्रतियोगिता त हरायो नै, रेडियो नेपालबाट शास्त्रीय संगीतको कार्यक्रम नै हरायो।