कोरोना भाइरस धेरै मानिसलाई केही लक्षण नदेखाउने, केही प्रतिशतलाई सामान्य रुघाखोकी लागेर ठीक हुने, अनि केही प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई भने अलि गाह्रो पर्ने भाइरस हो । कोरोनाको बहानामा संसारभर हामी सबै यति लामो समयसम्म लकडाउनको नाममा पिँजडामा थुनिएका छौं । रेबिज, एड्स, इबोला, स्वाइन फ्लुलगायत कोरोनाभन्दा अझ बढी मृत्युदर भएका सरुवा रोग पनि मानव जातिका लागि यति कठोर पक्कै भएको थिएन ।
नेपालमा कोरानाका कारण भएको मृत्युदर अन्य देशको तुलनामा आजसम्म कम छ । तथापि मर्नेको संख्या भने बढेको छ । यो चिन्ताको विषय हो । कोरानोबाट मृत्युको भय देखाएर सारा मानिसलाई कैदी बनाइएको लकडाउनको नीति र कोभिड–१९ को त्रास के साँच्चै जायज छ ? यसबाट हामीले बच्न सिक्नु आजको आवश्यकता हो ।
कोरोनाको कारण लाखौं मानिस रोजगारविहीन भएका छन् । नेपालीहरू बिहान र बेलुका के खाने भन्ने समस्यामा पुगेका छन् । ग्रामीण क्षेत्रमा भन्दा अझ सहरका गरिबमा दिन–प्रतिदिन समस्या बढेको देखिन्छ । मास्क र सेनिटाइजरको एकोहोरो रटान दिनहुँ सुनिन्छ । सबै मानिसहरूमा मास्क र सेनिटाइजर किन्ने होडबाजी नै चलेको छ ।
बजारमा अनेक थरीका मास्क र सेनिटाइजरहरू आएका छन् । कतिले त महिनौंसम्म पनि एउटै मास्क प्रयोग गरिरहेका छन् । कार्बनडाइअक्साइडका ससाना कण त्यहीं, सिंगान त्यसैमा, थुक पनि त्यसैमा अनि हिँड्न पनि साह्रै गाह्रो हुन्छ । यति नगरे कोरोना भाइरसको जोखिम पनि हुन्छ ।
लकडाउनका कारण पैसाको कमीले पोसिला खानेकुराको कमी भएको देखिन्छ । यसको कारणले शरीरमा तागत आउँदैन र प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उता बजारमा दिनहुँको साँझ–बिहानको चुलो पनि महँगो भएको छ । तरकारीको भाउ महँगो भएको छ । तर, कति ठाउँमा भने बजार नपाएको पनि समाचार सुनिन्छ ।
आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई दैनिक खानेकुरा नै खान नपाउने बेला भैसक्यो । धेरै समय घरमा थुनिएको र सामाजिक त्रासका कारण मानिसहरूमा आत्महत्यको दर बढेको छ । बालबालिकामा पनि पढ्न नपाएको र भविष्यको अनिश्चिताका कारण गहिरो मनोवैज्ञानिक असर परेको छ । एकतिहाइको रोजगारी गुमेका कारण देशलाई आर्थिक क्षति पुगेको छ ।
‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भनेझैं लकडाउनमात्र कोरोना नियन्त्रणको विकल्प हो भन्ने धनीमानीहरूलाई आमजनताको पीडा थाहा नभएझैं लाग्छ । शैक्षिक सत्र गुमिसक्यो । निजी क्षेत्र तहसनहस भइसक्यो । पर्यटन, औद्योगिक क्षेत्र, होटल–व्यवसाय झन् ध्वस्त भएको अवस्था छ । समयमा अस्पताल जान नपाएर धेरै दीर्घरोगी र गर्भवती महिलाको मृत्यु भएको छ ।
त्यसैले रोगका रूपमा आएको कोरानोलाई स्विकार्दै आवश्यक सावधानी अपनाउँदै अघि बढ्नुको विकल्प छैन ।कोरानाभन्दा धेरै खतरनाक भाइरसहरूसँग मानव जातिले सामना गरेको छ । यो बुझ्नु जरुरी छ । तसर्थ रोगसँग लड्ने क्षमता वृद्धि गरौं । स्वस्थ जीवनयापन गरौं ।
—शिवराम पाण्डे