काठमाडौं | मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले ललितपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय रवि भन्ने रिकेश महर्जन र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नम्बर ९ बस्ने २२ वर्षीया कमला लामालाई पक्राउ गरेको हो।
उनीहरुले २०७६ साउन दुई महिलालाई अमेरिका लैजाने भनी काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म लगेर शरीरिक तथा मानसिक यातना दिइ बन्धन बनाई राखेको उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो। उनीहरुले अमेरिका लैजान भन्दै ४१ लाख ६ हजार रुपैयाँ समेत ठगी गरेको पीडितले उजुरीमा जनाएका छन्।
यही घटना संलग्न सतिश बर्तौलालाई गत साउन २९ गते पक्राउ गरेको थियो। उनकै बयानको आधारमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो।