अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै पनि संक्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको छ ।
प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नु पूर्व नै कोरोना भाइरस घातक रहेको बताएको तर त्यसलाई व्यवहार भने कम आँकेर पर्याप्त कदम नचालेको देखिएको हो ।
वूडवार्डले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपति ट्रम्पसँगको अन्तर्वार्तालाई जस्ताको त्यस्तै उल्लेख गरेका छन् ।
उनले गएको डिसेम्बरदेखि जुलाइसम्म राष्ट्रपति ट्रम्पसँग १८ पटक अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै कोरोना भाइरसलाई ‘डेड्ली स्टफ’ भनेको वूडवार्डको नयाँ पुस्तक रेजमा उल्लेख छ ।
पुस्तकबारे टिप्पणी गर्दै ट्रम्पले महामारीलाई लिएर सर्वसाधारणमा त्रास नफैलियोस् भन्ने चाहेको बताएका छन् ।
अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९० हजार सात सय भन्दा बढीको ज्यान गएको छ । संक्रमितको संख्या ६३ लाख ५९ हजार पुगेको छ ।
बुधबार केही अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्प र पत्रकार वूडवार्डबिचको अन्तर्वार्ताको अंश प्रकाशित गरेका छन् । वूडवार्डको पुस्तक रेज आउँदो सेप्टेम्बर १५ मा बजारमा आँदैछ ।
वूडवार्डसँगको अन्तर्वार्तामा सुरुमै भाइरसलाई घातक भनेका ट्रम्पले सार्वजनिक रुपमा भने सामान्य फ्लू रहेको र यो त्यसै हराएर जाने बताउँदै आएका थिए र अझै पनि सोही प्रकृतिको टिप्पणी गर्ने गरेका छन् । उनले लामो समय मास्क लगाउँदै नलगाउने भने र पछि लगाए पनि उनले मास्क लगाएको देख्नु अति दूर्लभ छ ।
पत्रकार वूडवार्डसँगको अन्तर्वार्तामा कोरोना भाइरस अति घातक रहेको बारम्बार बताएका ट्रम्पले सार्वजनिक रुपमा भने कोभिड–१९ भन्दा सामान्या फ्लू अधिक खतरनाक रहेको बताउने गरेका छन् । तर अन्तर्वार्तामा उनले फ्लू भन्दा कोरोना भाइर धेरै गुणा घातक रहेको बताएको खुलेको छ ।
ट्रम्पले थाहा भएरै भाइरसलाई सार्वजनिक रुपमा सामान्य रुपमा लिएको खुलेको छ।
यो कुरा खुलेपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडेनले ट्रम्पको गम्भीर निन्दा गरेका छन् । थाहा पाएर पनि लाखौँ अमेरिकीको ज्यान जोगाउन केही नगरको आरोप उनले लगाएका छन् ।