कोरोना संक्रमितमध्ये बढी उमेरका व्यक्ति उच्च जोखिममा रहेको पाइएको छ । ८५ वर्षमाथिका कोरोना संक्रमितको मृत्युदर २४ प्रतिशत हाराहारी पुगेको छ ।स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेका अनुसार ४५ वर्षभन्दा मुनिको उमेर समूहका संक्रमितमा ०.५ प्रतिशतभन्दा कम मृत्युदर छ । यस्तै, ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहका संक्रमितमध्ये करिब १ प्रतिशत मृत्यु भएको छ । ५५ देखि ६४ वर्ष उमेर समूहमा करिब ३ प्रतिशत, ६५ देखि ७४ वर्ष उमेर समूहमा ७ प्रतिशत, ७५ देखि ८४ वर्ष उमेर समूहमा करिब ९ प्रतिशत मृत्युदर छ ।
ईडीसीडीका निर्देशक डा. पाण्डेका अनुसार सबै उमेर समूहका व्यक्ति कोभिड–१९ बाट संक्रमित हुन सक्ने भए पनि वृद्ध र दीर्घ रोगीलाई बढी असर पर्न सक्छ । संक्रमणबाट ज्यान गुमाएकामध्ये धेरैजसोमा दीर्घ रोगलगायतका स्वास्थ्य जटिलतासमेत देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनका अनुसार विश्वव्यापी रूपमा कोभिड संक्रमितहरूमा देखिने मृत्यु (सीएफआर) करिब ३.३ प्रतिशत छ भने नेपालमा ०.६३ प्रतिशत छ । छिमेकी मुलुक भारतको सीएफआर बुधबार १.७ प्रतिशत देखिएको छ ।
मुलुकमा बुधबारसम्म कोभिड–१९ ले ३ सय १२ जनाको मृत्यु भएको छ । १० वर्षसम्मका ४ बालिका र ३२ बालक गरी ३६ जनाको ज्यान गएको छ जुन कुल संक्रमितमध्ये १.९२ प्रतिशत हो । यस्तै ११ देखि २० वर्षसम्मका ४ महिला र ३ पुरुष गरी ७ जना अर्थात् कुल संक्रमितमध्ये २.२४ प्रतिशतको मृत्यु भएको छ । २१ वर्षदेखि ३० वर्ष उमेर समूहका ६ महिला र १० पुरुष गरी १६ जना अर्थात् संक्रमितमध्ये ५.१२ प्रतिशतको ज्यान गएको छ ।
कोभिड–१९ ले सबैभन्दा बढी प्रदेश २ मा १ सय २ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेशमा ९१ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ५ जनाको ज्यान गएको छ । प्रदेश १ मा ३४, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ४६ र सुदूरपश्चिम प्रदेशमा १० जनाको संक्रमणले मृत्यु भएको छ । मोरङमा २२, धनुषामा १५, पर्सामा ४२, बारामा १४, महोत्तरीमा ११, काठमाडौंमा ४२, चितवनमा १३, भक्तपुरमा १० र रूपन्देहीमा १५ जनाको कोरोनाले ज्यान लिएको छ । अन्य जिल्लामा मृत्यु हुने संख्या दुई अंकमा छैन ।