अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा बलिउडमा व्याप्त नाताबाद र भाइभतिजावाद जिम्मेवार रहेको भन्दै बलिउडका विभिन्न व्यक्तिमाथि अभिव्यक्ति दिएकी कंगना आज मुम्बई जाँदैछिन्।पछिल्लो समय सुशान्तको आत्महत्या प्रकरणमा थुप्रै तथ्यहरूलाई मुम्बई प्रहरी र सरकारले बेवास्ता गरेको आरोप लगाएपछि शिवसेनाबाट उनले मुम्बई नआउ भन्ने धम्की खेपिरहेकी छन्।
शिवसेनाका एक नेताले त उनलाई मुम्बई नआउन र आएमा त्यसको परिणाम भोग्न तयार हुने चेतावनीसमेत दिएका छन्।यस्तोमा कंगनाले आफू कुनै धम्कीले नडराउने भन्दै आजको दिन मुम्बई आउने बताएकी थिइन्।सरकारविरूद्ध खनिएपछि मुम्बई आएपछि महाराष्ट्र सरकार उनको लागुऔषध लिए-नलिएको परीक्षण गर्ने तयारी गरेको छ।
यस्तै मुम्बईको ठाणेमा शिव सेनाको आईटी सेलले कंगनाविरूद्ध देशद्रोहको उजुरी दिएको छ भने त्यहाँको महानगर निर्माण निगमले उनको कार्यालयमा अवैध निर्माण गरेको सूचना टाँस्दै उनीसँग स्पष्टिकरण मागेको छ।
धम्की पाएकी कंगनालाई केन्द्रीय सरकारले ८ जनाको संख्यामा सिआरपिएफका जवानहरूको सशस्त्र सुरक्षा उपलब्ध गराएको छ। कंगना त्यहाँको स्थानीय समय अनुसार चंडीगढबाट १२:३० को फ्लाइटमा मुम्बई जाँदैछिन्।मुम्बई आउनुअघि उनले आफू कसैसँग नडराउने ट्विट गरेकी छन्।
‘रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदान मैले सिनेमाबाट बाँचेकी छु। दुःख कुरा त यो छ कि मलाई नै महाराष्ट्र आउनबाट रोकिदैंछ। म रानी लक्ष्मीबाईंको पदचिन्हमा चल्नेछु। न डराउनेछु, न झुक्नेछु। गलतकाविरूद्ध आवाज उठाइरहनेछु। जय महाराष्ट्र, जय शिवाजी’, उनले ट्विट गरेकी छन्।मुम्बई आएपछि कंगनाको लागुऔषध परीक्षण गर्ने बताएका राज्यका गृहमन्त्री अनिल देशमुखको भनाइको पनि कंगनाले जवाफ दिएकी छन्।
‘म मुम्बई पुलिस र महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखको यस उपकारबाट बहुतै खुशी छु। कृपया मेरो जाँच गर्नुहोस्। मेरो कल रेकर्डको जाँच गर्नुहोस्। यदी तपाईंले लागुऔषध कारोबारीसँग मेरो कुनै सम्बन्ध पाउनुभयो भने म मेरो गल्ती स्वीकार गर्नेछु र सदाका लागि मुम्बई छोड्नेछु। तपाईंसँगको भेटको प्रतिक्षामा छु’, कंगनाले देशमुखलाई जवाफ दिएकी छन्।