उमेर ढल्कदै गयो । रोगले च्याप्न थाल्यो । आँखाको दृष्टि कमजोर भयो । कानले राम्ररी सुन्न छाड्यो । ओछ्यानमा पल्टिरहँदा वा एकै ठाउँ बसिरहँदा दिक्क लाग्छ । यताउता हिँड्दा गोडा दुख्छ ।
मीठोमसिनो शरीरले पचाउँदैन । रमझम मनले मान्दैन । मनमा अनेक कुरा खेल्छ । भलाकुसारी गर्ने दौतरी छैन । छोराछोरी, नाती–नातिनाले आफ्नो कुरामा चाख लिदैनन् । कसरी दिन कटाउने ? कसरी जीवन बिताउने ?
संभवत बुढ्यौलीले छोप्दै लगेपछि हामी त्यही अवस्थामा पुग्नेछौं, जहाँ पट्यारलाग्दा क्षणहरु हामीलाई कुरेर बसेका छन् । बुढ्यौली एक स्वभाविक प्रक्रिया हो । बाल्यकाल, किशोरवय हुँदै क्रमस हामी बुढ्यौलीमा प्रवेश गर्छौं । त्यसबेला हामीसँग के हुन्छ ?
सबै कुरा निथ्रिदै र रित्तिदै गएको हुन्छ । उत्साह, उमंग, उर्जा, जोश, आकंक्षा सबै । आफ्नै हातखुट्टाले राम्ररी साथ दिदैन । औषधि नखाई शरीरमा आरम मिल्दैन ।
त्यो क्षणमा हामीसँग खेल्ने, रमाउने, झ्याम्मिने छोराछोरी, नाती–नातिना हुनेछ ? न दुःख साट्ने जीवनसंगी ? न ख्यालठट्टा गर्ने दौतरी ?
सोचौं यस्तो अवस्थामा हामीले आफुलाई कसरी सम्हाल्छौं होला ? कसरी हामीले आफ्नो मन बुझाउँछौं होला ?
तपाईं÷हाम्रा घरमा आमाबुवा, हजुरआमा–हजुरबा होलान् । उनीहरुलाई बुढ्यौलीले छोप्दै लगेका होलान् । कतिपय शारीरिक समस्यासँग जुधिरहेका होलान् । उनीहरुका लागि अलग्गै खानेकुरा पकाइदिनुपर्ने होला । सजिलै पच्ने र सादा । उनीहरुका लागि समय–समयमा औषधिको व्यवस्था गरिदिनुपर्ने होला ।
बिहान चाडै उठेपछि तातोपानी पु¥याइदिनुपर्ने होला । रातभर खोकीको ख्याक–ख्याक सुन्नुपर्ने होला । यस्तो अवस्थामा कतिपयलाई लाग्छ, बुढापाका बोझ हुन् । त्यसैले त कति बुढापाका बृद्धाश्रममा शरण लिन पुगेका छन् । कतिपय घरभित्रै अपहेलना सहेर बसेका छन् ।
घरका बुढा आमाबुवा वा हजुरबा–हजुरआमा बोझ होइनन्, घरका शोभा हुन् ।
तपाईंलाई याद छ, हजुरआमा–हजुरबाको काखमा टाउको राखेर ‘एकादेशको कथा’ सुनेको ? उनीहरुको मायालु हातले स्पर्श गर्दा कस्तो अनुभूत हुन्थ्यो ? उनीहरुले कति परिपक्क कुरा गर्थे ? कति सन्तुलित व्यवहार गर्थे ?
तर, हाम्रो एउटा नराम्रो प्रवृत्ति छ । आफुसँग छँदा महत्व नबुझ्ने । लेखक बुद्धिसागरले आफ्नो उपन्यास कर्णाली ब्लुजमा यस्तै भावमा लेखेका छन्, ‘जतिबेला बुवा मसँग हुनुहुन्थ्यो, त्यसबेला उहाँको महत्वलाई बुझ्न सकिन । जतिबेला मैले बुवाको महत्व बुझें, त्यसबेला मसँग बुवा हुनुहुन्थेन ।’
गुमाइसकेपछि मात्र कसैको महत्व बुझ्ने प्रवृत्तिले अन्ततः पछुतो भन्दा केही दिनेछैन । त्यसैले यतिबेला नै आफ्ना बुढा बुवाआमा, हजुरबा–हजुरआमाको महत्व बुझौं ।
उनीहरुले भोगेको युग कस्तो थियो ? जीवनको यो घडीसम्म आइपुग्दा उनीहरुले के–के देखे ? के–के भोगे ? जीवनका ति भोगाईबाट के सिके ? के बुझे ?
वास्तवमा कुनै विश्वविद्यालयबाट पाउन नसकिने पाठ हामीले आफ्ना बुढापाकाबाट पाउन सक्छौं । उनीहरुले के–कस्ता संकट झेले ? के–कस्ता समस्या सामना गरे ? जीवनका कठिन क्षणहरुलाई कसरी सम्हाले ? आज उनीहरुको अनुभव सुन्न सक्छौं । त्यस्ता अनुभव, जसले हामीलाई धैर्यता, सहने शक्ति, उर्जा र उत्साह दिलाउँछ ।
बुढापाका ज्ञान र अनुभवका खजना हुन् । श्रोत हुन् । उनीहरुबाट हामीले व्यवहारिक जीवनका थुप्रै कुरा सिक्न सक्छौं, बुझ्न सक्छौं ।
सोच्नुहोस् त, घरमा बुढा आमाबुवा, हजुरबा, हजुरआमा छन् भने घर कति उज्यालो हुन्छ ? उनीहरुले परिवारलाई एकढिक्का बनाएर राख्छन् । सबैको क्षमता र अवस्था अनुसार जिम्मेवारी छुट्याइदिन्छन् । आफ्ना साना नाती–नातिनीलाई कसरी स्यहार्ने, हुर्काउने भन्ने कुरा सिकाउँछन् । चाडपर्वलाई विधीपूर्वक सम्पन्न गर्छन् । घर–व्यवहारलाई सन्तुलित राख्छन् । पारिवारिक निर्णयहरु परिपक्क ढंगले गर्छन् । घर–परिवारलाई बलियो र समृद्ध तुल्याउँछन् ।