विरगंंज । सरकारले वैकल्पिक विधिबाट भएको पठनपाठन शैक्षिक सत्रमा गणना गर्ने प्रक्रियालाई औपचारिक मान्यता दिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ संक्रमण प्रतिदिन बढ्दै गइरहेको भन्दै वैकल्पिक सिकाईलाई औपचारिक मान्यता दिइएको प्रस्त पारेका छन् ।
‘अब यसलाई अभियानकै रूपमा अगाडि लैजान्छौं, रेडियो, टेलिभिजन, अनलाइन तथा होम स्कुलिङ माध्यमबाट भएका सिकाइका गतिविधिलाई औपचारिक मान्यता दिएका छौं,’ उनले भने, ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ संशोधन गरिएको छ ।’
शिक्षामन्त्री पोखरेलले यो अवस्थामा पाठ्यक्रम यथावत् रूपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रम संश्लेषण गर्ने निर्णय भएको बताए । उनले विश्वविद्यालयका उपकुलपतिलाई तत्काल कोभिडकेन्द्रित क्यालेन्डर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
यद्यपि, कतिपय विश्वविद्यालयले निर्देशन पालना गरेको पाइएको छैन । अझै पनि त्रिविसहितका विश्वविद्यालयको परीक्षा र पठनपाठन हुन सकेको छैन । जसले गर्दा विद्यार्थी मर्कामा परेका छन् ।
यसैगरी, सरकारले स्थानीय तहको अनुमति लिएर निजी विद्यालयलाई शुल्क उठाउन बाटो खुला गरिदिएको छ । हाल, निजी विद्यालयमा २ लाख ५० हजार शिक्षक कर्मचारी कार्यरत छन् । ९० लाख विद्यार्थीको पठनपाठन प्रभावकारी बन्न सकेको छैन ।