यस वर्ष विद्यालय शिक्षाको पाठ्यक्रम छोट्याइने, अत्यावश्यक विषयवस्तु मात्र पढाइने
वीरगंज संजाल
२० भाद्र २०७७, शनिबार १४:१०
२८८५
विरगंंज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याइएको (कस्टमाइजेसन) बताएका छन् । मन्त्री पोखरेलले भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक सत्रको साढे ४ महिना बितिसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जानकारी दिए ।
हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिनेछ,’ मन्त्री पोखरेलले भने ।यही भाद्र महिनाभित्र हामी संस्लेषित पाठ्यक्रम (कस्टामाइज्ड पाठ्यक्रम) विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।’ शैक्षिक क्यालेन्डर अनुसार १९० दिन वा १०२४ घण्टा पढाइ हुनुपर्दछ ।
पाठ्यक्रम घटाएपछि भने यो मापदण्ड लागू हुँदैन । अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिए ।
यस्तै, उनले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् ।
उनले घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए ।
उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको बताए । सूचना र सञ्चारको पहुँच भएका तथा नभएका विद्यार्थीको सिकाइ निरन्तरताका लागि कार्ययोजना ल्याउन निर्देशन दिएको जानकारी दिए ।
मन्त्री पोखरेलले भने, ‘हतार हतार शैक्षिक संस्था खोल्ने निर्णय गरेर संक्रमण थप फैलिएमा नेपालले त्यसलाई धान्न सक्दैन । कतिपय विश्वका अन्य मुलुुकको उदाहरणले पनि हामीलाई यही सिकाइरहेको छ । त्यसैले अहिले वैकल्पिक विधिको शिक्षाको विकल्प छैन ।