भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका छन्।
उक्त घरका ४७ वर्षीय पुरूषमा केही दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको छ।
घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई भित्रै राखेर ताला लगाइएको हो।
‘तीन दिनअघि हामीले स्थानीय, घरबेटी र प्रहरीसँग समन्वय गरेर ताला लगाएका हौं,’ वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सेतोपाटीसँग भने।
सरकारले संक्रमितको घरपरिवारमा यस्तो अमानवीय काम गर्न कसैलाई अधिकार दिएको छैन। वडाध्यक्ष ह्यौंमिखाले परिवारकै अनुमतिमा ताला लगाएको बताए।
‘ताला लगाउन हुन्न भन्ने कुरा हो। तर त्यस घरमा डेरा गरी बस्नेहरूको ओहोरदोहोर भइरहने भएको हुदाँ स्थानीयवासीको सल्लाहअनुसार त्यस्तो गरेका हौं,’ उनले भने।
केही आकस्मिक काम परे छिमेकीलाई नै चाबी दिइएको उनले बताए।
प्रहरीले पनि घरमा ताला लगाउन सहमति दिएको छ।’भाडामा बस्ने मान्छेहरू पनि छन् निस्किरहन सक्छन् भनेर घरबेटीले नै अनुरोध गरेपछि ताला लगाइएको हो,’ महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी दीपक गिरीले भने।