काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । विहीबार नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको खाली एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।
शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको बुझिएको छ ।राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् ।
त्यसपछि सञ्चार मन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडाको सचिवालले जनाएको छ ।
मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।
खतिवडाको बहिर्गमनसँगै अबको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् । गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन् ।