वीरगंज | अक्सफोर्ड विश्वविद्यालयले प्रकाशित गरेको ‘कोभिड-१९ स्ट्राटेजिज् इन नेपाल’ नामक एक अध्ययनप्रति जनस्वास्थ्य विज्ञले आपत्ति जनाएका छन्।बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रोफेसनल्सले यूके एड‚ अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र अक्सफोर्ड विद्यालयले संयुक्त रूपमा निकालेको उक्त अध्ययनप्रति आपत्ति जनाएका हुन्।
उक्त अध्ययनको खण्डन गर्दै जनस्वास्थ्य विज्ञहरूले यो तथ्यहीन भएकाले यसले झन् मानिसमा त्रास फैलाएको प्रष्ट पारेका छन्। विज्ञप्तिमा भनिएको छ‚ ‘यस्ता किसिमका अध्ययनले महामारीसँग जुध्नका लागि बनाइएका नीति‚ रणनीतिलाई सही मार्ग देखाएको हुँदैन। झन् यस्ता किसिमका अध्ययनले मानिसमा डर पैदा गर्छ।’
यसैगरी विज्ञप्तिमा ४ महिनाको अन्तरालमा नेपालका करीब २ करोड जनसंख्यामा कोभिड-१९ को संक्रमण देखिने‚ संक्रमितमध्ये १० प्रतिशतभन्दा कमले आफू पोजेटिभ भएको भन्दै स्वास्थ्य निकायमा दर्ता गराउने र उच्च मृत्युदरको प्रक्षेपण केका आधारमा गरियो भनी प्रश्न गरिएको छ।
साथै नेपालको हालसम्मको स्थिति र अध्ययनले देखाएको स्थितिमा धेरै नै अन्तर परिसकेकाले अध्ययन प्रकाशित गर्ने व्यक्तिको यसप्रतिको धारणा के छ भनी सोधिएको छ।
उक्त विज्ञप्तिमा चीनका लागि नेपालका पूर्वराजदूत डा महेशकुमार मास्के‚ पिपल्स हेल्थ मुभमेन्ट नेपालका कन्ट्री कोअर्डिनेटर डा शरद ओन्त‚ नेपाल हेल्थ इकोनोमिक एसोसियसनकमा संस्थापक सभापति डा बद्रीराज पाण्डे‚ नेपाल पब्लिक हेल्थ फाउन्डेसनकी डा अरूणा उप्रेति‚ सेन्टर फर मलेक्युलर डाइनामिक्स नेपालका संस्थापक निर्देशक डा समीरमणी दिक्षित‚ काठमाडौं मेडिकल कलेजका प्राध्यापक डा अभिनव वैद्य र पब्लिक हेल्थ प्रोफेसनल्स डा राजेन्द्र बिसीले हस्ताक्षर गरेका थिए।
उक्त अध्ययनले आगामी डिसेम्बरसम्ममा नेपालमा कोभिड-१९ बाट करिब ४९ हजार मानिसको मृत्यु हुने भन्दै ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको थियो।
न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको थियो भने ‘मध्यम अवरोध रणनीति’मा सुरुमा प्रतिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म विद्यालयहरु पूर्ण रुपमा बन्द गर्नुका साथै अन्य समुदायबाट आयातित केसलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने) गरी सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताइएको थियो।
त्यस्तै उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र अन्य लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने सकिने उल्लेख थियो। यसरी गरिएको अध्ययनमा सन् २०२० को अन्त्यसम्ममा कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुनसक्ने अनुमान पनि गरिएको थियो।